एनडीपीको दोस्रो वार्षिक साधारणसभा सम्पन्न, २.५ प्रतिशत बोनस शेयर पारित


काठमाडौं – नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी) को दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, आर्थिक विवरण तथा लेखापरीक्षण प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ। सभाले सञ्चालक समितिले नियुक्त गरेको स्वतन्त्र सञ्चालकको नियुक्तिलाई समेत अनुमोदन गरेको छ। साथै, गएको आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको २.५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले एनडीपी स्थापना भएको लामो समयपछि मात्र नेपाल सरकारले वैकल्पिक वित्तीय वृत्त स्थापना गर्ने कार्यक्रम अघि बढाएको बताए। अध्यक्ष ढकालका अनुसार कम्पनीले स्वदेश तथा विदेशमा रहेका नेपालीहरूको छरिएर रहेको सानो–सानो पुँजीलाई एकीकृत गरी उत्पादनमूलक क्षेत्र, ठूला पूर्वाधार तथा रणनीतिक आयोजनामा परिचालन गर्ने लक्ष्य लिएको छ।

स्वदेशी उद्यमशीलतालाई प्रोत्साहन गर्दै रोजगारी सिर्जना र आर्थिक आत्मनिर्भरतामा टेवा पुर्‍याउने उद्देश्यसहित आगामी दिनमा जलविद्युत्, केबलकार तथा पर्यटन, सूचना प्रविधि र पूर्वाधार विकासका क्षेत्रमा लगानी विस्तार गर्ने ढकालले बताए। कम्पनीले गत आर्थिक वर्षमा ७ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ।