काठमाडौं- चीनले नेपालका लागि आपत्कालीन राहत सामग्रीसहित उद्धार उपकरण उपलब्ध गराएको छ। चिनियाँ दूतावासका अनुसार चीनको पिपुल्स लिबरेसन आर्मी वायुसेनाका दुईवटा ‘वाई–२०’ ठूला मालवाहक विमान राहत सामग्री बोकेर काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
उक्त विमानमार्फत सुरुङभित्र गरिने उद्धार कार्यका लागि आवश्यक उपकरणसहित चारजना चिनियाँ उद्धार विज्ञसमेत नेपाल आइपुगेका छन्। राहत सामग्री हस्तान्तरण समारोहमा नेपालका लागि चिनियाँ राजदूत महामहिम झाङ माओमिङ, नेपालका विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन तथा संघीय संसद् प्रतिनिधिसभाका सदस्य धर्म केसी सहभागी भएका थिए। सो अवसरमा चिनियाँ उद्धार विज्ञहरूलाई समेत स्वागत गरिएको थियो।
चिनियाँ दूतावासका अनुसार दुवै मालवाहक विमान चीनको छेन्दु सुआङ्लिउ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेका थिए र करिब तीन घण्टाको उडानपछि काठमाडौं आइपुगेका हुन्। दुवै विमानले कुल ५० टन तौल बराबरका १३ हजार २०० थान आपत्कालीन राहत सामग्री नेपाल ल्याएका छन्। सामग्रीमा पाल, कम्बल, स्लिपिङ ब्याग, सुक्खा खानेकुरा तथा प्राथमिक उपचारका सामग्रीलगायतका वस्तु रहेका छन्।






About Us
प्रतिक्रिया