भारतबाट थप ११ टन राहत सामग्री नेपाल आइपुग्यो


काठमाडौं – भारतीय विदेशमन्त्री डा.एस जयशंकरका अनुसार नेपालका लागि ११ टन राहत सामग्री बोकेको भारतको चौथो उडान नेपाल आइपुगेको छ। 

भारतबाट आएको राहत सामग्रीमा खोज तथा उद्धार कार्यका लागि आवश्यक उपकरणसहितको सुरुङ प्राविधिक टोली, डीएनए विश्लेषणका लागि फरेन्सिक विज्ञहरूको टोली तथा फरेन्सिक उपकरण समावेश छन्। त्यस्तै, कम्बल, स्लीपिङ ब्याग, त्रिपाल, प्लास्टिकका सिट र सरसफाइ सामग्रीलगायतका राहत सामग्री पनि ल्याइएको छ।

यसैबीच, २३० फिट लामो सिंगल लेन मोड्युलर स्टिल ब्रिज निर्माणका लागि आवश्यक उपकरण बोकेका १६ वटा ट्रक पनि नेपाल आइपुगेका छन्। थप सातवटा बेली ब्रिज जडानका लागि आवश्यक उपकरण छिट्टै उपलब्ध गराइने भारतले जनाएको छ। ती पुल जडानका लागि प्राविधिक टोलीसमेत नेपाल आउने अपेक्षा गरिएको छ।

भारतका अनुसार हालसम्म अत्यावश्यक औषधि, पोर्टेबल जेनेरेटर सेट, खाद्य सामग्रीका प्याकेट, पानी शुद्धीकरण गर्ने चक्की तथा प्राविधिक उपकरणसहित कुल ६८.५ टन राहत सामग्री हवाईमार्फत काठमाडौं ल्याइएको छ।