रसुवा बाढीले बगाएको बैंकको भल्टबाट १ करोड ८० लाख लुटपाट गर्नेले फिर्ता दिन थाले पैसा


काठमाडौं – बाढीले बगाए ल्याएको पैसा बाँडफाँड गरेकाहरुले धमाधम फिर्ता गर्न लागेका छन्। प्रतिनिधि सभाकी सांसद आशिका तामाङका अनुसार रसुवा बाढीमा बगेर धादिङको गल्छी मास्टस्थित जनकल्याण स्कुलमा बैंकको भल्ट नै बगेर आएको थियो। सो भल्टमा रहेको १ करोड ८० लाख रुपैयाँ बाँडफाड गरेको पाइएपछि तामाङले सामाजिक सञ्जालमा असन्तुष्टि जनाएकी थिइन्।

उनले सामाजिक सञ्जालमा राखेपछि बाढीबाट आएको रकम बाँडफाँड गर्नेहरुले धमाधम रकम फिर्ता गर्नेक्रम जारी रहेको तामाङले नै जानकारी दिएकी हुन्। तिब्बतबाट अकल्पनिय बाढी आएपछि रसुवा, नुवाकोट र धादिङका जिल्लाहरुमा ठूलो धनजनको क्षती भएको छ।

यसक्रममा विभिन्न बैंकका ९ वटा शाखामा पूर्ण तथा आंशिक क्षती पुगेको बताइएको छ। यस्तै, सयौं कर्मचारी अझै वेपत्ता छन्। सोहीक्रममा बैंकमा पैसा राखिएको भल्ट पनि बगाएको थियो। त्यसरी बगाएर धादिङको गल्छी पुगेको भल्ट फुटाएर पैसा बाँडफाँड भएको थियो। तर, यतिबेला सो रकम फिर्ता भइरहेको तामाङले जानकारी दिएकी हुन्।

‘गल्छी मास्टरस्थित जनकल्याण स्कुलमा अहिले, बाढीले बगाएर ल्याएको बैंकको भल्ट फोरेर लैजानुभएको पैसा केही व्यक्तिहरूले फिर्ता गर्दै हुनुहुन्छ र प्रहरी बोरा ओछ्याएर पैसा गन्दै हुनुहुन्छ भन्ने स्थानीय बाट जानकारी आएको छ,’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘म फेरि पनि अनुरोध गर्छु, जसजसले जति रकम लैजानुभएको छ, यथाशीघ्र फिर्ता गरिदिनुहोस्। यो पैसाले कसैको भलो हुँदैन।’

यस्तो संकटको घडीमा बाढीले बगाएर ल्याएको पैसा आफ्नो बनाउनु महापाप भएको उनको भनाई छ।