काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा र नुवाकोट जिल्लाका विभिन्न जलविद्युत् आयोजनामा कार्यरत ९३४ जना सम्पर्कविहीन भएका छन्। बाढीबाट दुवै जिल्लाका निर्माणाधीन तथा सञ्चालनमा रहेका गरी कम्तीमा ११ वटा जलविद्युत् आयोजना प्रभावित भएका छन्।
उपलब्ध विवरणअनुसार रसुवाका सातवटा जलविद्युत् आयोजनामा कार्यरत ७३० जना सम्पर्कविहीन छन् भने नुवाकोटका छ वटा आयोजनाका २०४ जना सम्पर्कविहीन भएका छन्।
रसुवामा सबैभन्दा ठुलो संख्यामा माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका कर्मचारी तथा कामदार सम्पर्कविहीन छन्। २१६ मेगावाट क्षमताको निर्माणाधीन उक्त आयोजनामा कार्यरत ५७६ जना सम्पर्कविहीन भएको विवरणमा उल्लेख छ। यस्तै, १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाका ९३ जना, २० मेगावाटको लाङटाङ खोला आयोजनाका ४२ जना, चिलिमे जलविद्युत् आयोजनाका आठ जना र मेलुङ खोला जलविद्युत् आयोजनाका सात जना सम्पर्कविहीन छन्। रसुवा–भोटेकोशी र माथिल्लो मेलुङ ‘ए’ आयोजनामा पनि चार जना सम्पर्कविहीनको विवरण प्राप्त भएको छ।
नुवाकोटमा माथिल्लो त्रिशूली–३ बी जलविद्युत् आयोजनाका १५८ जना सम्पर्कविहीन भएका छन्। ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ए आयोजनाका ४२ जना, मिडल त्रिशूली गङ्गा आयोजनाका दुई जना तथा त्रिशूली र देवीघाट जलविद्युत् आयोजनाका एक–एक जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।
बाढीबाट प्रभावित आयोजनामध्ये रसुवामा चार वटा सञ्चालनमा रहेका र तीन वटा निर्माणाधीन आयोजना छन्। यी आयोजनाको कुल क्षमता क्रमशः १५८ मेगावाट र ३४२ मेगावाट रहेको छ।
नुवाकोटमा चार वटा सञ्चालनमा रहेका र दुई वटा निर्माणाधीन आयोजना प्रभावित भएका छन्। यसैबिच, २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ आयोजनाबाट हालसम्म २५४ जनाको मात्र उद्धार गर्न सकिएको बताइएको छ। बाढीका कारण लाङटाङ, माथिल्लो त्रिशूली–१, माथिल्लो त्रिशूली–३ ए र चिलिमे जलविद्युत् आयोजनामा तत्काल उद्धारको आवश्यकता देखिएको छ।






About Us
प्रतिक्रिया