बाढीपीडितका लागि बीवाईडी र साइमेक्सले ७ करोड रुपैयाँ सहयोग गर्ने


काठमाडौं – चिनियाँ विद्युतीय सवारीसाधन उत्पादक कम्पनी बीवाईडी र यसको नेपालस्थित आधिकारिक वितरक तथा स्थानीय साझेदार साइमेक्स इन्क प्रालिले रसुवा जिल्ला र अन्य क्षेत्रमा बुधबार विनाशकारी बाढीबाट प्रभावित समुदायको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।

विपद्को घडीमा नेपालीप्रति बीवाईडी र साइमेक्सको यो सहयोगले ऐक्यबद्धता र प्रतिबद्धतालाई झल्किएको छ। यो रकम नेपाल सरकारको आधिकारिक विपद् राहत र पुनर्स्थापना संयन्त्र मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा सञ्चालन हुनेछ।

यो रकम उद्धार, उपचार, तत्काल राहत, पुनर्स्थापना र क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणमा सरकारले गरिरहेको प्रयासमा सहयोगी हुने बीवाईडीले जनाएको छ। यसबाट प्रभावित परिवार र समुदायलाई पुनर्स्थापना र पुनर्निर्माणमा मद्दत पुग्ने कम्पनीको विश्वास छ।

साइमेक्स इन्क नेपालमा बीवाईडीको आधिकारिक वितरक हो। दिगो गतिशीलता विकासमा साइमेक्सले बीवाइडीसँग नजिकबाट काम गर्दै आएको छ। बीवाईडी र साइमेक्स इन्कले विपद्मा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ भने प्रभावित समुदायको शीघ्र पुनर्स्थापना र पुनर्निर्माणको कामना गरेका छन्।