काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, चीनतर्फबाट नेपालको परराष्ट्र मन्त्रालयमार्फत प्राप्त पछिल्लो सूचनाअनुसार भू–उपग्रह तस्बिर तथा प्रारम्भिक विश्लेषणबाट हिजो भाद्र १० गते बाढी सिर्जना भएको स्थानमा नदी थुनिएर ताल बनेको पाइएको छ।
प्राधिकरणले भोटेकोशी नदीमा सम्भावित बाढीको जोखिम बढेको भन्दै तल्लो तटीय क्षेत्रका बासिन्दा तथा सम्बन्धित सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
उक्त तालको पानीको सतह निरन्तर बढिरहेको र ताल फुट्न सक्ने जोखिमसमेत रहेको सूचनामा उल्लेख छ। ताल फुटेमा भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रमा अचानक ठूलो बाढी आउन सक्ने सम्भावना रहेकाले जोखिम न्यूनीकरणका लागि विशेष सावधानी अपनाउन आग्रह गरिएको हो।
प्राधिकरणले अर्को सूचना जारी नभएसम्म भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु, उद्धार कार्यमा खटिने उद्धारकर्ता तथा सम्बन्धित सबैलाई नदी किनार र अन्य जोखिमयुक्त क्षेत्रबाट टाढा रही सुरक्षित स्थानमा बस्न अनुरोध गरेको छ।






About Us
प्रतिक्रिया