चीनले भन्यो: नेपालका दुई नदीको दोभानमा बनेको विशाल ताल तीन दिनभित्र फुट्न सक्ने


काठमाडौं – नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोपछि नेपाल-चीन सीमा क्षेत्र नजिकै दुई नदीको संगमस्थलमा ठुलो प्राकृतिक बाँधयुक्त ताल (ब्यारियर लेक) बनेको र आगामी तीन दिनभित्र यसको फुट्ने जोखिम उच्च रहेको चीनको जलस्रोत मन्त्रालयले जनाएको छ।

चीनको सरकारी टेलिभिजन सीसीटिभी तथा ग्लोबल टाइम्सका अनुसार नेपालको छोछेन खोला र पुरेपु त्साङ्पो नदीको संगमस्थल नजिक बनेको उक्त तालमा बिहीबार बिहानसम्म करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको छ। तालको सतह भरिँदै जाँदा पानी बाहिरिनसमेत थालेको मन्त्रालयले जनाएको छ।

चिनियाँ अधिकारीहरूका अनुसार आगामी तीन दिनमा थप करिब ३० लाख घनमिटर पानी उक्त तालमा जम्मा हुने अनुमान गरिएको छ। पानीको मात्रा तीव्र रूपमा बढ्दै गएमा प्राकृतिक बाँध भत्किएर अचानक ठूलो बाढी आउन सक्ने भएकाले ताल फुट्ने जोखिम उच्च रहेको चेतावनी दिइएको छ।

जोखिमलाई मध्यनजर गर्दै चीनको जलस्रोत मन्त्रालयले तालको अवस्थाको निरन्तर निगरानी गरिरहेको जनाएको छ। सम्भावित ताल फुटाइपछि उत्पन्न हुन सक्ने बाढीको प्रभाव मूल्याङ्कन गर्न कम्प्युटर सिमुलेसन तथा प्राविधिक विश्लेषणसमेत भइरहेको छ। मन्त्रालयले आपत्कालीन उद्धार तथा जोखिम न्यूनीकरणका लागि आवश्यक तयारीलाई तीव्र बनाइएको जानकारी दिएको छ।

यसैबीच, नेपाल–चीन सीमाको नेपाली भूभागबाट सुरु भएको विनाशकारी लेदोसहितको पहिरोले चीनको दक्षिण–पश्चिमी सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित क्यिरोङ (केरुङ) नाका आसपासका क्षेत्रमा समेत क्षति पुर्‍याएको छ। त्यसपछि चिनियाँ पक्षले विभिन्न निकाय परिचालन गर्दै उद्धार तथा राहत कार्यलाई तीव्र बनाएको जनाएको छ।

चिनियाँ जनमुक्ति सेना, आपत्कालीन उद्धार टोली, इन्जिनियरिङ समूह, दूरसञ्चार सेवा प्रदायक तथा राहत संस्थाहरूले प्रभावित क्षेत्रमा जनशक्ति, विमान, उपकरण र राहत सामग्री पठाइरहेका छन्। दुर्गम भौगोलिक अवस्था, निरन्तर वर्षा र थप प्राकृतिक विपद्को सम्भावित जोखिमका बीच उद्धार तथा राहत कार्य सञ्चालन भइरहेको चिनियाँ सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।