बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणबाट फर्कियो प्रधानमन्त्री शाह नेतृत्वको टोली


काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको टोली बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण गरी काठमाडौं फर्किएको छ। प्रधानमन्त्री शाहले आज बिहान सडकमार्ग हुँदै पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहित नुवाकोट पुगेर बाढी प्रभावित क्षेत्रको भौतिक अवस्थाको अवलोकन गरेका हुन्। 

हिजो रसुवाको भोटेकोशी हुँदै आएको बाढीले नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएपछि प्रधानमन्त्री शाह उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सक्रिय भएका थिए। बाढीपछि उच्चस्तरीय बैठक आह्वान गरी सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिएका उनले आज विदुर र आसपासका प्रभावित क्षेत्रको प्रत्यक्ष निरीक्षण गरेका हुन्। प्रधानमन्त्री शाह नेतृत्वको टोलीले बाढीबाट भएको भौतिक क्षतिको स्थलगत अनुगमन गर्नुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय तथा जनप्रतिनिधिसँग उद्धार, राहत र पुनर्स्थापनाका विषयमा विस्तृत छलफल गरेको थियो।

निरीक्षणका क्रममा प्रधानमन्त्री शाहले विस्थापित परिवारलाई तत्काल राहत उपलब्ध गराउन, अवरुद्ध सडक तथा अन्य पूर्वाधार शीघ्र सञ्चालनमा ल्याउन र दीर्घकालीन पुनर्स्थापनाको कामलाई तीव्रता दिन स्थानीय प्रशासन तथा सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। प्रधानमन्त्रीको टोलीले प्रभावित क्षेत्रको अवस्थाबारे प्रत्यक्ष जानकारी लिएपछि राहत, उद्धार र पुनर्निर्माणका लागि आवश्यक कदमलाई थप प्रभावकारी बनाउने जनाएको छ।