बाढीको क्षति, उद्धार र राहतबारे जानकारी लिन नुवाकोट पुगे प्रधानमन्त्री बालेन


नुवाकोट – प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ बाढी प्रभावित क्षेत्रको क्षति, उद्धार तथा राहत कार्यबारे जानकारी लिन नुवाकोट पुगेका छन्। प्रधानमन्त्री शाह आज बिहान पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहित सडकमार्ग हुँदै विदुर पुगेका हुन्। उनीहरूले बाढीबाट प्रभावित विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण गर्नुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग राहत, उद्धार, पुनर्स्थापना तथा अवरुद्ध पूर्वाधार सञ्चालनबारे जानकारी लिने कार्यक्रम छ।

तिब्बतबाट आएको भीषण बाढीले हिजो रसुवाको भोटेकोशी हुँदै नुवाकोटलगायतका तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो। बाढीपछि प्रधानमन्त्री शाहले उच्चस्तरीय बैठक बोलाएर उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका थिए।

प्रधानमन्त्रीको टोलीले बाढीबाट क्षतिग्रस्त सडक, पुल तथा अन्य भौतिक संरचनाको अवस्थाबारे जानकारी लिँदै प्रभावित क्षेत्रमा राहत पुर्‍याउने र अवरुद्ध पूर्वाधार तत्काल सञ्चालनमा ल्याउने विषयमा आवश्यक निर्देशन दिने जनाइएको छ।

बाढीका कारण रसुवा, नुवाकोट र धादिङका नदी तटीय क्षेत्रमा भौतिक क्षति भएको छ भने कतिपय पुल तथा सडकमा क्षति पुगेर आवागमन प्रभावित भएको छ। रसुवामा केही प्रहरीसहित मानिसहरू सम्पर्कविहीन भएका छन् भने विभिन्न बस्तीमा क्षति पुगेको छ। बाढीको बहावका कारण त्रिशूली नदी आसपासका बस्तीमा समेत जोखिम बढेको छ।