काठमाडौं -रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य तीव्र पारिएको छ। नेपाली सेनाका अनुसार हालसम्म रसुवाबाट ८८ जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ। उद्धारका लागि ६ वटा हेलिकप्टर परिचालन गरिएको छ भने बाढीमा फसेकाहरूको खोज तथा उद्धारमा ३ वटा ड्रोनसमेत प्रयोग गरिएको छ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थप दुई हेलिकप्टर बाढी प्रभावित क्षेत्रमा पठाउने तयारी गरिएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितका सुरक्षाकर्मी उद्धार तथा खोजी कार्यमा परिचालित छन्।
बुधबार बिहान चीनको तिब्बत क्षेत्रबाट भोटेकोशी हुँदै आएको आकस्मिक बाढीले रसुवाको रसुवागढी, टिमुरे, स्याफ्रुबेँसी, मैलुङलगायत क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढीले बस्ती तथा बजार, सडक, पुल, सरकारी कार्यालय, प्रहरी चौकी, भन्सार तथा अध्यागमनका संरचना र जलविद्युत् आयोजनामा समेत क्षति पुर्याएको प्रारम्भिक विवरण छ।
बाढीको प्रभाव भोटेकोशी हुँदै त्रिशूली नदीसम्म पुगेको छ। त्रिशूली नदीमा बाढीका कारण कम्तीमा १९ वटा पुलमा क्षति पुगेको र करिब ४० किलोमिटर सडकमा क्षति भएको सडक विभागले जनाएको छ। क्षतिग्रस्त क्षेत्रमा सडक विभागले भारी उपकरण परिचालन गरी सडक तथा पुल मर्मतको काम अघि बढाएको छ।
बाढीले सयौँ सवारीसाधन, घर तथा व्यवसायिक संरचनामा समेत क्षति पुर्याएको प्रारम्भिक विवरण छ। रसुवागढी क्षेत्रमा भन्सार, अध्यागमन, सडक तथा अन्य पूर्वाधारमा ठूलो क्षति पुगेको छ। क्षतिको पूर्ण विवरण भने उद्धार तथा खोजी कार्य सकिएपछि मात्रै यकिन हुने बताइएको छ।
यसैबीच, त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा समेत बाढीको जोखिम कायम रहेकाले नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ। उद्धार, खोजी, उपचार तथा क्षतिको प्रारम्भिक मूल्यांकन एकसाथ अघि बढाइएको छ।






About Us
प्रतिक्रिया