काठमाडौं – रसुवामा आएको बाढीका कारण चार वटा प्रहरी युनिटमा क्षति पुगेको छ। नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेका अनुसार टिमुरे, स्याफ्रुबेँसी, रसुवागढी र मैलुङ क्षेत्रका प्रहरी युनिटमा क्षति पुगेको हो।
प्रवक्ता काफ्लेका अनुसार बाढीका कारण खोला आसपासका बस्तीमा मानवीय तथा भौतिक क्षति पुगेको प्रारम्भिक जानकारी आएको छ। पुल तथा अन्य संरचना बगाएको विवरणसमेत प्राप्त भएको उनले बताए। यद्यपि, क्षतिको यकिन विवरण सङ्कलन गर्ने काम भइरहेको छ।
उनका अनुसार बाढी प्रभावित क्षेत्रमा रहेका केही प्रहरी युनिटका प्रहरीसँग समेत सम्पर्क हुन नसकेको अवस्था छ। प्रभावित क्षेत्रमा रहेका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको प्रहरीले जनाएको छ।
जोखिममा रहेका बस्ती तथा क्षेत्रमा थप क्षति हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै प्रहरीले उच्च सतर्कता अपनाएको छ। प्रभावित क्षेत्रमा व्यापक रूपमा प्रहरी परिचालन गरिएको प्रवक्ता काफ्लेले बताए।
प्रहरीले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको थप विवरण सङ्कलन गरिरहेको जनाएको छ। काफ्लेका अनुसार प्रारम्भिक रूपमा चार वटा प्रहरी युनिटमा क्षति पुगेको विवरण प्राप्त भए पनि अन्य युनिटको अवस्थाबारे थप जानकारी आउन बाँकी छ।






About Us
प्रतिक्रिया