काठमाडौं- नेपाल विद्युत प्राधिकरणले रसुवामा आएको आकस्मिक बाढीका कारण जनधनमा अपूरणीय क्षति हुनुका साथै घर, सडक, पुल, विद्युत् तथा अन्य भौतिक संरचनामा उल्लेख्य क्षति पुगेको बताएको छ।
बाढीबाट रसुवागढी, चिलिमे, त्रिशूली–३ ए, त्रिशूली–३ बी हबअन्तर्गतको २२० केभी सबस्टेसन, त्रिशूली तथा देविघाट जलविद्युत् केन्द्रलगायत उत्पादन, प्रसारण र वितरणसँग सम्बन्धित विभिन्न संरचनामा क्षति पुगेको प्राधिकरणले जनाएको छ। संरचनामा भएको क्षतिका कारण उक्त क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको समेत प्राधिकरणले जनाएको छ।
प्राधिकरणले बाढीका कारण बेपत्ता तथा प्रभावित सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी र सर्वसाधारणको खोजी, उद्धार, राहत तथा पुनः स्थापनाका लागि सम्बन्धित सबै पक्षलाई तत्काल प्रभावकारी रूपमा परिचालन हुन आग्रह गरेको छ।
बाढीको जोखिम अझै कायम रहन सक्ने भन्दै प्राधिकरणले नदी तथा खोलाको आसपास, तटीय क्षेत्र र अन्य जोखिमयुक्त स्थानमा रहेका कर्मचारी तथा सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। थप जोखिम देखिएमा सुरक्षित स्थानतर्फ स्थानान्तरण हुनसमेत प्राधिकरणले अनुरोध गरेको छ। प्राधिकरणले आधिकारिक सूचनाबाहेकका अपुष्ट समाचार तथा अफवाहमा विश्वास नगर्न पनि सर्वसाधारणलाई आग्रह गरेको छ।






About Us
प्रतिक्रिया