काठमाडौं – रसुवामा आएको बाढीपछि क्षतिको प्रारम्भिक विवरण संकलन भइरहेको सशस्त्र प्रहरी बलले जनाएको छ। सशस्त्र प्रहरीका प्रवक्ता नेत्रबहादुर कार्कीले बाढीबाट भएको क्षतिको यकिन विवरण अहिले नै सार्वजनिक गर्न सकिने अवस्था नरहेको बताएका छन्।
प्रवक्ता कार्कीका अनुसार बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि सशस्त्र प्रहरी परिचालन भइरहेको छ। उनका अनुसार काठमाडौं उपत्यकामा रहेको विपद् व्यवस्थापन टोलीलाई तयारी अवस्थामा राखिएको छ। टोलीलाई आवश्यकताअनुसार प्रभावित क्षेत्रमा पठाउन सकिने गरी विमानस्थलमा स्ट्यान्डबाइ राखिएको छ।
उनले बिहान सम्पर्कविहीन भएका ९ जना सशस्त्र प्रहरीमा पाँच जना सम्पर्कमा आइसकेका छन् भने चार जना अझै सम्पर्कमा आएका छैनन्। उनीहरूको खोजी तथा सम्पर्कमा ल्याउने प्रयास भइरहेको उनले बताए। बाढीबाट प्रभावित हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै अस्पतालमा आवश्यक बेडसमेत तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरीले जनाएको छ। उद्धार तथा राहतका लागि अर्को टोली नुवाकोटतर्फ समेत परिचालन भइसकेको प्रवक्ता कार्कीले जानकारी दिए।






About Us
प्रतिक्रिया