काठमाडौं – प्रधानमन्त्री बालेन शाहले रसुवा बाढीमा उद्धार तथा राहत कार्यलाई तीव्र बनाइएको बताएका छन्। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत उद्धार तथा राहतका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल प्रहरी परिचालन गरिएको छ भने अन्य जिल्लाबाट समेत थप जनशक्ति प्रभावित क्षेत्रतर्फ पठाइएको बताएका हुन्।
उनले विपद् व्यवस्थापन प्राधिकरण सक्रिय हुँदै मेडिकल टिम, नेपाल स्काउट र रेडक्रसलगायतका निकायसँग समन्वय गरी आवश्यक उद्धार तथा राहतका काम अघि बढाइएको बताए । उनले भने, ‘प्रभावित क्षेत्रमा थप एम्बुलेन्स तथा मेडिकल जनशक्ति पठाउने प्रक्रिया समेत सुरु गरिएको छ।’
साथै, उनले बाढीको जोखिममा रहेका तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारी (सीडीआ) लाई निर्देशन दिइएको बताए। स्थानीय बासिन्दालाई एसएमएस तथा फोनमार्फत जोखिमबारे जानकारी गराउँदै सुरक्षित स्थानमा जान सचेत गराइएको छ। सम्भावित उद्धार तथा राहत कार्यका लागि हेलिकप्टरहरू प्रभावित क्षेत्रतर्फ पठाइएको उनले बताए। निजी हेलिकप्टर कम्पनीहरूलाई समेत उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राख्न जानकारी गराइएको छ। केही निजी हेलिकप्टरसमेत प्रभावित क्षेत्रतर्फ परिचालन भइसकेको उनले बताए।
साथै, आगामी आवश्यक कदमबारे निर्णय गर्न उच्चस्तरीय बैठक बोलाइएको समेत उनले जानकारी दिएका छन्। बैठकपछि थप उद्धार, राहत तथा सुरक्षा व्यवस्थासम्बन्धी निर्णय लिइने उनले बताए। शाहले सबैलाई सुरक्षित स्थानमा बस्न आग्रह गर्दै आफन्तसँग सम्पर्क हुन नसकेमा सम्बन्धित सरकारी निकायबाट जारी हुने उद्धारसम्बन्धी सूचनाको प्रतीक्षा गर्न अनुरोध गरेका छन्। थप जानकारी तथा राहतसम्बन्धी विवरणका लागि १२३४ नम्बरमा सम्पर्क गर्न सकिने उनले बताए।






About Us
प्रतिक्रिया