काठमाडौं – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले प्रतिनिधिसभाको बैठकमा आज सांसदका प्रश्नको जवाफ दिनेछन्। दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद–९ अनुसार सांसदहरूले सोधेका प्रश्नको जवाफ प्रधानमन्त्री बालेनले दिने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ।
बैठकमा प्रधानमन्त्री बालेनले मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन, आव २०८१/८२ प्रस्तुत गर्नेछन्। बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।
सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रधानमन्त्री बालेनलाई सदनमा उपस्थित हुन भदौ १ गतेको संसद् बैठकमा रुलिङ गरेका थिए। उक्त बैठकमा उनले प्रतिपक्ष दलको विरोधप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै प्रतिनिधिसभा बैठकमा उपस्थित भई नियम ५६, ५७ र ५८, ५९ र ६० बमोजिम सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई निर्देशन दिएका थिए।






About Us
प्रतिक्रिया