अख्तियारले हचुवाका भरमा भ्रष्टाचार मुद्दा अघि बढाउँदैन: अख्तियार प्रमुख राई


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले अख्तियारले हचुवाका भरमा कसैलाई पनि मुद्दा नचलाउने बताएका छन्। बिहीबार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भएको छलफलमा प्रमुख आयुक्त राईले अनुसन्धानबाट प्राप्त तथ्य, प्रमाण र कानुनी प्रक्रियाका आधारमा मात्रै मुद्दा अघि बढाइने स्पष्ट पारे।

‘कुनै पनि मुद्दा हचुवाका भरमा अघि बढ्दैन, अनुसन्धान अधिकृतको अनुसन्धान र बहुमतका आधारमा मात्रै अघि बढ्छ,’ राईले भने, ‘सहन्यायाधिवक्ताको टिमले सबै हेरेर मात्र पेस गर्न लायक भनेर लेखेर दिन्छ। कसैलाई लाने र हाल्ने भनेर कुनै पनि मुद्दा जाँदैनन्।’राईले भ्रष्टाचारसम्बन्धी उजुरीमा हदम्याद तोक्ने विषयमा पनि समितिमा छलफल हुने गरेको बताए। भ्रष्टाचारजस्तो गम्भीर विषयमा प्रमाण फेला पर्न ढिला हुँदैमा अनुसन्धानबाट उन्मुक्ति दिन नहुने उनको भनाइ थियो।

उनकाअनुसार अख्तियारको हालको कानुनी व्यवस्थाअनुसार बिगो नखुलेका मुद्दामा पाँच वर्षे हदम्यादको व्यवस्था छ। पाँच वर्षभित्र त्यस्ता मुद्दा टुङ्गिन नसके अदालतबाट खारेज हुन सक्ने व्यवस्था रहेको उनले बताए। यस विषयमा अदालतमा समेत अन्योल रहेको राईको भनाइ छ।

प्रमुख आयुक्त राईले कुनै मुद्दा लामो समयसम्म अनुसन्धानमा रहनुको मुख्य कारण तथ्य र प्रमाण जुट्न नसक्नु रहेको बताए। विशेषगरी भूमिसम्बन्धी मुद्दामा कागजात, प्रमाण र विभिन्न निकायसँगको समन्वय आवश्यक पर्ने भएकाले अनुसन्धान प्रक्रिया लामो हुने गरेको उनले जानकारी दिए। यस क्रममा उनले ललिता निवास जग्गा प्रकरणलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै भूमिसम्बन्धी मुद्दाको अनुसन्धान र प्रमाण संकलनमा समय लाग्ने गरेको बताए।