काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय संयोजक लिला पिटर याहियाबीच नेपालको आर्थिक तथा सामाजिक विकासका लागि निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्य गर्ने विषयमा छलफल भएको छ। महासंघ सचिवालय, टेकुमा मंगलबार भएको भेटवार्तामा सरकार, निजी क्षेत्र, विकास साझेदार र संयुक्त राष्ट्रसंघलगायत सबै पक्षबीच परिणाममुखी सहकार्य आवश्यक रहेकोमा जोड दिइएको छ।
भेटमा अध्यक्ष श्रेष्ठले सीप विकास, उद्यमशीलता, लगानी प्रवद्र्धन र मर्यादित रोजगारीलाई जोडेर संयुक्त राष्ट्रसंघसँग व्यावहारिक कार्यक्रम अघि बढाउन महासंघ इच्छुक रहेको बताए। नेपालको अर्थतन्त्रमा लगानी तथा व्यवसायिक विश्वास पुनःस्थापित गर्नु अहिले महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले युवालाई स्वदेशमै रोजगारी र उद्यमका अवसर सिर्जना गरी विकासको केन्द्रमा राख्नुपर्ने बताए। संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय संयोजक याहियाले नेपालमा निजी क्षेत्रसँग बलियो साझेदारीका लागि संयुक्त राष्ट्रसंघ सकारात्मक रहेको बताइन्। उनले नेपालको समावेशी तथा दिगो आर्थिक विकासमा संयुक्त राष्ट्रसंघ सधैं साथमा रहेको बताइन्।
अध्यक्ष श्रेष्ठले नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नतिको चरणमा रहेको र स्तरोन्नतिको समय तीन वर्ष थप गरी सन् २०२९ नोभेम्बरसम्म पुर्याउन माग गरिएको जानकारी दिए। स्तरोन्नतिपछिको संक्रमणलाई सहज बनाउन उत्पादन क्षमता, निर्यात प्रतिस्पर्धा, व्यापार सहजीकरण र अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्ने क्षमतामा संयुक्त राष्ट्रसंघको थप सहयोग आवश्यक रहेको उनले बताए। यस विषयमा सरकारले संयुक्त राष्ट्रसंघलाई अनुरोध गरेको सन्दर्भमा सम्बन्धित समितिले निर्णय गर्ने बताउँदै याहियाले निर्णय हुँदासम्म नेपालले आफ्नो तयारी गर्नुपर्नेमा जोड दिइन्।
उनले भनिन्,’नेपालको स्तरोन्नति केवल हैसियत परिवर्तनमा सीमित हुनु हुँदैन। यसलाई दिगो आर्थिक रूपान्तरण, रोजगारी सिर्जना, लगानी विस्तार र उत्पादन तथा निर्यात क्षमता अभिवृद्धिको अवसरका रूपमा लिनुपर्छ।’ नेपालमा रहेको युवा जनशक्ति र विभिन्न क्षेत्रको सम्भावनालाई उपयोग गर्न स्थिर तथा पूर्वानुमानयोग्य नीति र राष्ट्रिय संस्थाप्रतिको विश्वास महत्वपूर्ण हुने पनि उनले बताइन्। आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनमा केन्द्रित रणनीति आवश्यक रहेकोमा समेत उनले जोड दिइन्।
‘नेपाल सम्भावना भएको देश हो। नेपालले विकासका लागि अहिले जनसाङ्ख्यिक लाभ लिन सक्छ। तर यो अवस्था धेरै वर्ष रहँदैन। त्यसैले विप्रेषणबाट चलेको अर्थतन्त्रलाई रूपान्तरण गर्नु आजको आवश्यकता हो,’उनले भनिन्। अध्यक्ष श्रेष्ठले साना तथा मझौला उद्यमलाई वित्तीय पहुँच, प्रविधि, सीप, बजार र सूचनामा सहज पहुँच दिलाउन विशेष कार्यक्रम आवश्यक रहेको बताए। यस्ता उद्यमलाई प्रतिस्पर्धी, डिजिटल, औपचारिक तथा वातावरणमैत्री बनाउन संयुक्त पहल गर्न सकिने उनको भनाइ थियो।
जिम्मेवार व्यवसाय, श्रम मापदण्ड, महिला आर्थिक सशक्तीकरण, व्यवसाय तथा मानव अधिकार र समावेशी आर्थिक विकासका क्षेत्रमा महासंघले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम, अन्तर्राष्ट्रिय श्रम संगठन तथा युएन वुमनलगायतका निकायसँग गर्दै आएको सहकार्यलाई थप विस्तार गर्नुपर्नेमा पनि उनले जोड दिए। विकास सहयोगलाई परम्परागत सहायता केन्द्रित मात्र नभई निजी लगानी परिचालनतर्फ समेत लैजानुपर्ने बताउँदै श्रेष्ठले संयुक्त राष्ट्रसंघले सरकार, निजी क्षेत्र, लगानीकर्ता, वित्तीय संस्था र विकास साझेदारलाई एउटै मञ्चमा ल्याएर लगानीयोग्य परियोजना निर्माणमा सहजीकरण गर्न सक्ने धारणा राखे।






About Us
प्रतिक्रिया