काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जनताले सामान्य औषधि र उपचारसमेत नपाइरहेका बेला सरकारले मन्त्रीहरू भने बिरामी पर्दा हेलिकप्टर पाएको टिप्पणी गरेको छ। मंगलबार प्रतिनिधिसभाको बैठकमा कांग्रेस प्रमुख सचेतक वासना थापाले दुर्गमका जनताले राहत र औषधि नपाएको तर मन्त्रीहरू बिरामी पर्दा राज्यको लाखौँ रकम खर्च गरेर हेलिकप्टर चार्टर गरिएको बताएकी हुन्।
थापाले दुर्गम क्षेत्रका नागरिकले सिटामोल, राहत र उपचार नपाइरहेको अवस्थामा मन्त्री बिरामी पर्दा राज्यको ठूलो रकम खर्च गरेर हेलिकोप्टर चार्टर गरिएको भन्दै सरकारको प्राथमिकतामाथि प्रश्न उठाइन्। ‘काठमाडौंको मिनरल वाटर र जारको पानीमा हुर्किएका मन्त्री कर्णाली पुग्दा खानपान पचाउन नसकेपछि लाखौँ खर्च गरेर हेलिकोप्टरमा काठमाडौं ल्याइन्छ,’ उनले भनिन्, ‘मन्त्रीलाई ३०–३५ लाख खर्च गरेर ल्याउन सक्ने सरकारले जनतालाई तीन लाख रुपैयाँ खर्च गरेर राहत दिन सक्दैन।’
उनले बिहान–बेलुकाको छाक टार्नसमेत कठिन भएका नागरिकलाई राज्यले एक सिलिन्डर ग्याससम्म उपलब्ध गराउन नसकेको भन्दै सरकारको सुशासनको दाबीप्रति पनि प्रश्न उठाइन्। थापाले मन्त्री र सामान्य नागरिकको जीवनको मूल्य राज्यका लागि समान हुनुपर्ने बताउँदै भनिन्, ‘मन्त्रीको जीवन जति मूल्यवान् छ, कर्णालीका नागरिकको जीवन पनि उत्तिकै मूल्यवान् छ। प्रधानमन्त्रीका लागि हेलिकोप्टर पुग्ने तर बिरामी नागरिकका लागि अस्पताल नपुग्ने ? के यही हो जनताको सरकार ?’
सरकारले एकातिर ठूला द्रुतमार्ग तथा पूर्वाधार विकासका योजना अघि बढाउने कुरा गर्ने र अर्कोतिर कर्णालीका नागरिकलाई आवश्यक औषधि तथा राहतसमेत उपलब्ध गराउन नसक्ने अवस्था रहेको भन्दै उनले सरकारको प्राथमिकतामाथि पुनर्विचार गर्न आग्रह गरिन्। सरकारको यस्तो असमान व्यवहारका कारण दुर्गम क्षेत्रका नागरिकले वास्तविक सुशासनको अनुभूति गर्न नसकेको उनको भनाइ थियो।






About Us
प्रतिक्रिया