काठमाडौं – एथर नेपालको आधिकारिक वितरक वैद्यज एनर्जी प्रालिले नाइमा मोबिलिटी एक्स्पो २०२६ मा ५०० भन्दा बढी इलेक्ट्रिक स्कुटरको बुकिङ प्राप्त गरेको जनाएको छ। छ दिनसम्म सञ्चालन भएको प्रदर्शनीमा एथरका नयाँ इलेक्ट्रिक स्कुटर, प्रविधि तथा स्वामित्वसँग जोडिएको सेवा प्रणालीप्रति ग्राहकको उत्साहजनक प्रतिक्रिया आएको कम्पनीको भनाइ छ।
कम्पनीका अनुसार उक्त उपलब्धि केवल प्रवर्द्धनात्मक योजनाका कारण नभई ब्याट्रीको विश्वसनीयता, बिक्रीपछिको सेवा, चार्जिङ पूर्वाधार तथा प्रयोगमैत्री प्रविधिमा गरिएको निरन्तर लगानीको परिणाम हो। एथरले इलेक्ट्रिक स्कुटर खरिदपछि पनि ग्राहकलाई सहज अनुभव प्रदान गर्ने उद्देश्यले ‘एथर एस्योरेन्स’लाई प्राथमिकतामा राख्दै आएको जनाएको छ।
कम्पनीले ‘Eight70 Warranty’ अन्तर्गत ब्याट्रीमा आठ वर्ष वा ८० हजार किलोमिटरसम्मको वारेन्टी उपलब्ध गराउँदै आएको छ। लागू हुने सर्तअनुसार यसमा ब्याट्रीको स्वास्थ्य कम्तीमा ७० प्रतिशत कायम रहने सुनिश्चितता समेत समावेश रहेको कम्पनीले जनाएको छ। यसले इलेक्ट्रिक सवारी खरिद गर्दा ग्राहकमा देखिने दीर्घकालीन ब्याट्री विश्वसनीयतासम्बन्धी चिन्ता कम गर्न सहयोग पुग्ने कम्पनीको दाबी छ।
एथर नेपालका अनुसार हाल देशभर १० भन्दा बढी आधिकारिक सर्भिस सेन्टर र ५० भन्दा बढी फास्ट चार्जिङ ग्रिड विस्तार भइसकेका छन्। यसले स्कुटर खरिदपछि पनि ग्राहकलाई सेवा तथा चार्जिङको पहुँच उपलब्ध गराउने कम्पनीको भनाइ छ। नाइमा एक्स्पोमा आएको ग्राहकको प्रतिक्रियाले पनि ग्राहकहरू केवल स्कुटरको मूल्य वा सुविधाभन्दा त्यससँग जोडिएको सम्पूर्ण इकोसिस्टम र दीर्घकालीन सेवाप्रति बढी सचेत हुन थालेको देखाएको कम्पनीले जनाएको छ।
प्रदर्शनीमा सार्वजनिक गरिएको एथर ४५० ओभरटोन सिरिजले पनि ग्राहकको विशेष ध्यान आकर्षित गरेको थियो। कम्पनीका अनुसार म्याजिक ट्विस्ट, इन्फिनिट क्रुज र भ्वाइस अन एथरजस्ता प्रविधिले आगन्तुकलाई नयाँ राइडिङ अनुभव प्रदान गरेका थिए। म्याजिक ट्विस्टमार्फत रिजनरेटिभ ब्रेकिङ नियन्त्रण गर्न सकिने, इन्फिनिट क्रुजले लामो दूरीको राइडलाई सहज बनाउने तथा भ्वाइस अन एथरले भ्वाइस–आधारित अन्तरक्रिया र कनेक्टेड प्रविधिको सुविधा दिने कम्पनीले जनाएको छ।
ओभरटोन सिरिजसँगै एथर ४५० सिरिज र रिज्टा परिवारका स्कुटरले पनि ग्राहकलाई प्रदर्शन, आराम तथा दैनिक सहरी आवागमनका आवश्यकता अनुसार विभिन्न विकल्प उपलब्ध गराएको कम्पनीले जनाएको छ।
नाइमा मोबिलिटी एक्स्पोमा प्राप्त ५०० भन्दा बढी बुकिङलाई कम्पनीले बिक्री उपलब्धताभन्दा पनि नेपालमा विद्युतीय मोबिलिटीप्रति बढ्दो विश्वास र एथरले निर्माण गरिरहेको स्वामित्व प्रणालीप्रतिको ग्राहकको भरोसाको संकेतका रूपमा लिएको छ। कम्पनीले प्रविधि, चार्जिङ नेटवर्क, सर्भिस पूर्वाधार र दीर्घकालीन ब्याट्री सुनिश्चिततालाई प्राथमिकतामा राख्दै नेपालमा विद्युतीय मोबिलिटीको संक्रमणलाई थप विश्वसनीय, सहज र प्रयोगमैत्री बनाउने प्रतिबद्धता जनाएको छ।






About Us
प्रतिक्रिया