जाजरकोट – अविरल वर्षासँगै जाजरकोटको भेरी नगरपालिका–२, रिसाङमा खसेको लेदोसहितको पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ। पहिरोमा परी दुई जना अझै बेपत्ता छन् भने ११ जना घाइते भएका छन्।
शनिबार साँझ करिब ५ः३० बजे आएको पहिरोमा परी ५४ वर्षीया उमा सिंह खत्री र ८३ वर्षीया रती खत्रीको शव खोजीका क्रममा फेला परेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। यस्तै, पहिरोमा परी घाइते भएका भेरी नगरपालिका–२ साल्धाराका ५२ वर्षीय केदार कार्कीको उपचारका क्रममा मृत्यु भएको हो। जिल्ला अस्पताल जाजरकोटबाट नेपालगन्ज रिफर गरिएका कार्कीको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ।
पहिरोमा परी भेरी नगरपालिका–२ चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की र गैरीगाउँका १४ वर्षीय हरिस विक अझै बेपत्ता छन्। हरिस पहिरोपछि घरबाट बाहिर निस्किएपछि सम्पर्कविहीन भएका हुन्। उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ।
पहिरोमा परी रामबहादुर शाही, सिद्धिबहादुर कामी, कमला कार्की, अनिता कार्की, युनिस शाही, सुन्तली चदरा र भद्रकला कार्कीसहित सात जना घाइते भएका छन्। घाइतेमध्ये ६२ वर्षीय रामबहादुर शाही र ६१ वर्षीया भद्रकला कार्कीको अवस्था गम्भीर रहेको जनाइएको छ। उनीहरूलाई थप उपचारका लागि नेपालगन्ज र सुर्खेततर्फ पठाइएको छ। उपचारपछि तीन जना घाइते डिस्चार्ज भइसकेका छन्।
पहिरोले आठ वटा घरमा ठूलो क्षति पुर्याएको छ। जोखिमलाई दृष्टिगत गर्दै भेरी नगरपालिका–२ का करिब २०० जनालाई त्रिभुवन आधारभूत विद्यालयको भवनमा स्थानान्तरण गरिएको छ।
बेपत्ता व्यक्तिको खोजी तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ। साउन ३१ गते बिहानदेखि सशस्त्र प्रहरी निरीक्षक कमल कार्कीको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षाकर्मीको टोली परिचालन गरिएको हो। घटनास्थलमा तीनवटै सुरक्षा निकायका गरी करिब १५५ जना सुरक्षाकर्मी खटिएका छन्। अविरल वर्षा जारी रहेकाले घटनास्थल आसपास थप पहिरोको जोखिमसमेत रहेको प्रहरीले जनाएको छ।







About Us
प्रतिक्रिया