काठमाडौं- काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को दोस्रो दिन पनि अवलोकनकर्ताको उल्लेख्य सहभागिता देखिएको छ। नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको एक्स्पोमा दोस्रो दिन पनि व्यापक सहभागिता भएपछि मेलास्थल भरिभराउ बनेको हो।
मेलास्थल पुगेका अवलोकनकर्ताले आफूलाई मनपरेका कार तथा मोटरसाइकल छानी–छानी बुक गरिरहेका छन्। एक्स्पोमा सहभागी कम्पनीहरूका अनुसार महँगा तथा सस्ता दुवै मूल्य समूहका कार र मोटरसाइकलप्रति अवलोकनकर्ताको समान रुचि देखिएको छ।
काठमाडौंको डिल्लीबजारबाट मेला अवलोकन गर्न आएका दिनेश महर्जनले नाइमा एक्स्पो आफ्नो क्षमताअनुसारको कार खरिद गर्ने महत्वपूर्ण अवसर भएको बताए। दिउँसो ३ बजे मेला स्थलमा भेटिएका उनले भने, ‘म नाइमा एक्स्पोकै अवसर पारेर कार किन्ने सोचमा थिएँ। धेरै ब्रान्डका आकर्षक मूल्य र फिचरसहितका गाडी देख्दा छनोट गर्न निकै सकस परिरहेको छ। बिहान साढे ११ बजेदेखि अहिलेसम्ममा १८–२० वटा गाडी चढिसकेँ होला।’
मेलामा ठूलो संख्यामा मानिसहरू विभिन्न ब्रान्डका गाडी चढेर तिनका सुविधा तथा विशेषताबारे जानकारी लिइरहेका थिए। अवलोकनकर्ताले खासगरी ब्याट्री क्षमता, मोटर, रेन्ज र बिक्रीपछिको सेवाजस्ता विषयमा चासो राखेका छन्। ग्राहक आकर्षित गर्न कम्पनीहरूले विभिन्न सुविधा पनि उपलब्ध गराएका छन्। उनीहरूले मूल्यमा छुट, एक वर्षको बिमा, एक वर्षको सवारी कर, निःशुल्क सर्भिसिङ तथा न्यून ब्याजदरमा कर्जालगायत सुविधा दिएका छन्।
दोस्रो दिन विभिन्न ब्रान्डका चार नयाँ मोडल सार्वजनिक भएका छन्। पहिलो दिन मंगलबार विभिन्न ब्रान्डले ४८ नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरेका थिए। दोस्रो दिन मात्रै २६ हजारभन्दा बढीले मेला अवलोकन गरेका छन्। उद्घाटनको दिन मंगलबार २९ हजारभन्दा बढीले मेला अवलोकन गरेका थिए। आयोजकले मेला अवधिभर करिब डेढ लाखले अवलोकन गर्ने अपेक्षा गरेको छ।
मोबिलिटी संवादमा ३०० भन्दा बढीको सहभागिता
एक्स्पोअन्तर्गत बुधबारको Learning Session मा ‘मोबिलिटी हिजो, आज र भोलि’ विषयमा छलफल तथा अन्तर्क्रिया भएको छ। कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवं पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख एसएसपी सुरेशप्रसाद काफ्ले, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौला, पूर्वाधार विकास मन्त्रालयका विज्ञ सल्लाहकार एवं ट्राफिक तथा यातायात इन्जिनियर अनुकूल निधि र नाडा अटोमोबाइल एसोसिएसनका पूर्वअध्यक्ष ध्रुवबहादुर थापा सहभागी थिए। संवादको सहजीकरण पत्रकार टिकाराम यात्रीले गरेका थिए।
बुधबारको मोबिलिटी संवादमा ३०० भन्दा बढीले सक्रिय सहभागिता जनाएका छन्। एक्स्पोको पहिलो दिन ‘Investment and Foreign Direct Investment (FDI): Mobilizing-Fuel for Economic Growth’ विषयमा छलफल भएको थियो। एक्स्पो अवधिभर स्वदेशी तथा विदेशी विज्ञहरूको सहभागितामा ‘नाइमा मोबिलिटी संवाद’ सञ्चालन हुने आयोजकले जनाएको छ।
विद्युतीय सवारी मुख्य आकर्षण
नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको दोस्रो संस्करणको एक्स्पो ६ दिन अर्थात् साउन ३१ गतेसम्म सञ्चालन हुनेछ।
एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको उल्लेख्य सहभागिता रहेको छ। नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्डदेखि विभिन्न नयाँ मोडलका विद्युतीय कार, ई–स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधन एक्स्पोका मुख्य आकर्षण बनेका छन्। बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूले पनि सवारी खरिदका लागि विशेष अफर तथा सहुलियत कर्जा उपलब्ध गराइरहेका छन्।
एक्स्पोका साझेदारहरू
मेलाको को–स्पोन्सरमा ग्लोबल आइएमई बैंक लिमिटेड रहेको छ भने रेडबुल पावर्ड बाईका रूपमा रहेको छ। बैंकिङ पार्टनरमा एनएमबी बैंक लिमिटेड र सिद्धार्थ बैंक लिमिटेड रहेका छन्। इन्स्योरेन्स पार्टनरमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड रहेका छन्।
टेक्नोलोजी पार्टनरमा बोस (BOSCH), एजुकेसन पार्टनरमा ग्लोबल कलेज र एम्बार्क कलेज, चार्जिङ पार्टनरमा अग्नि इनर्जी प्राइभेट लिमिटेड र अजायल इन्जिनियरिङ सोलुसन्स प्राइभेट लिमिटेड तथा राइड पार्टनरमा पठाओ नेपाल प्राइभेट लिमिटेड रहेका छन्। हाइड्रेसन पार्टनरमा अक्वा मिनरल्स (अक्वा हन्ड्रेड), हस्पिटालिटी पार्टनरमा द सोल्टी काठमाडौं, मेडिकल पार्टनरमा ग्रान्डी इन्टरनेसनल हस्पिटल, सर्भिलियन्स पार्टनरमा भत्सल इम्पेक्स प्राइभेट लिमिटेड (हिकभिजन) तथा फायर एन्ड सेफ्टी पार्टनरमा हिट्को प्राइभेट लिमिटेड रहेका छन्।
त्यसैगरी, नाइमा मोबिलिटी एक्स्पोको को–टिकेटिङ पार्टनरमा आइएमई खल्ती लिमिटेड, क्यूआर पार्टनरमा युनियन पे, अडियो भिजुअल पार्टनरमा पायोनियर इभेन्ट म्यानेजमेन्ट एन्ड मिडिया नेटवर्क प्राइभेट लिमिटेड, डिजिटल पार्टनरमा डिजिपल सोलुसन्स प्राइभेट लिमिटेड, भेइकल सेफ्टी पार्टनरमा एटीएस नेपाल, म्यानेजमेन्ट पार्टनरमा मिडिया स्पेस सोलुसन्स प्राइभेट लिमिटेड, कनेक्टिभिटी पार्टनरमा वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड तथा पब्लिकेसन पार्टनरमा प्रफिट मिडिया प्राइभेट लिमिटेड रहेका छन्।







About Us
प्रतिक्रिया