नेपाल छिरेको पाँच वर्षपछि विवादमा इनड्राइभ, भाडा नपुगेको भन्दै एक सातादेखि आन्दोलनमा राइडर

'कार्यालय प्रहरीको सुरक्षा छातामा रहँदा सेवा प्रवाहमा समस्या'


काठमाडौं – नेपालमा राइड सेयरिङ सेवा सुरु गरेको पाँच वर्षभन्दा बढी समयपछि इनड्राइभका राइडरहरू कम्पनीविरुद्ध आन्दोलनमा उत्रिएका छन्। इन्धन तथा अन्य खर्च बढ्दै गए पनि आफूहरूले पाउने आम्दानी सोही अनुपातमा नबढेको भन्दै राइडरहरूले वैज्ञानिक भाडादर निर्धारण र श्रमिक अधिकार सुनिश्चित गर्न माग गरेका छन्।

स्वतन्त्र चालक फाउन्डेसन नेपालको आह्वानमा इनड्राइभका राइडरहरूले गत साता बुधबार ललितपुरको कुपण्डोलस्थित कम्पनीको कर्पोरेट कार्यालय घेराउ गरेका थिए। उनीहरूले कम्पनीले आफूहरूलाई उचित पारिश्रमिक नदिएको र श्रम शोषण गरेको आरोप लगाएका छन्।

राइडरहरूले दैनिक रूपमा इन्धन, सवारी मर्मत, पार्टपुर्जा तथा अन्य खर्च बढिरहेको तर इनड्राइभबाट प्राप्त हुने आम्दानी भने त्यसअनुसार नबढेको बताएका छन्। यसले राइडरलाई आफ्नो श्रमअनुसारको आम्दानीबाट वञ्चित गरिरहेको उनीहरूको गुनासो छ।

आन्दोलनमा सहभागी एक राइडरले कम्पनीले माग सम्बोधन नगरे आन्दोलन थप लम्बिने चेतावनी दिएका छन्। ‘तीन दिनसम्म हाम्रो माग पूरा भएन भने आन्दोलनको समय लम्बिन सक्छ,’ उनले भने। राइडरहरूले वैज्ञानिक आधारमा भाडादर निर्धारण गर्नुपर्ने, श्रमिकको अधिकार सुनिश्चित गर्नुपर्ने र कम्पनीले आफूहरूको माग सम्बोधन गर्नुपर्ने बताएका छन् ।

पाँच वर्षअघि सुरु, एक वर्षपछि औपचारिक दर्ता
इनड्राइभले नेपालमा राइड सेयरिङ सेवा सुरु गरेको पाँच वर्षभन्दा बढी भइसकेको छ। तर, कम्पनीले नेपालमा औपचारिक रूपमा दर्ता भएर सेवा सुरु गरेको भने २०८१ वैशाख २४ गतेदेखि हो।

लगानी सम्मेलनको सेरोफेरोमा सरकारले जारी गरेको ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ मार्फत विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ संशोधन गर्दै राइड सेयरिङ क्षेत्रमा ७० प्रतिशतसम्म विदेशी लगानी खुला गरेको थियो। त्यसपछि इनड्राइभले नेपालमा आफ्नो सेवा औपचारिक रूपमा सञ्चालन गरेको हो।

इनड्राइभले आफ्नो सेवा विश्वका ४६ देशका ७४९ सहरमा विस्तार भएको जनाएको छ। राइड सेयरिङबाहेक इनड्राइभले विभिन्न देशमा कुरियर, कार्गो तथा लामो दूरीका यातायात सेवासमेत सञ्चालन गर्दै आएको छ। नेपालमा भने सेवा विस्तारसँगै राइडरको पारिश्रमिक र भाडादरको विषय विवादमा आएको हो। राइडरहरूले आफूहरूको लागत बढिरहेको अवस्थामा यात्रुबाट लिइने भाडा र आफूले पाउने आम्दानीबीच सन्तुलन हुनुपर्ने माग गरेका छन्।