काठमाडौं – नेपाली युवा उद्यमी मञ्चको अध्यक्षमा आभूषण ज्योति कंसाकार चयन भएका छन्। काठमाडौं स्थित द सोल्टी होटलमा शनिबार सम्पन्न मञ्चको २२औँ वार्षिक साधारणसभाले कंसाकारलाई अध्यक्षमा चयन गरेको हो।
कंसाकारको अध्यक्षतामा सन् २०२६–२०२७ का लागि नयाँ राष्ट्रिय कार्यकारी परिषद् निर्विरोध चयन गरेको छ। कंसाकार नेपालकै ठूलो विद्युतीय व्यापार कम्पनी जीविका संस्थापक अध्यक्ष तथा देवज्योति समूहका अध्यक्ष हुन्।
साधारणसभाको औपचारिक उद्घाटन प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रमुख आतिथ्यमा भएको थियो। उद्यमशीलता, नेतृत्व विकास, नवीनता तथा जिम्मेवार व्यावसायिक अभ्यासलाई प्रवर्द्धन गर्दै आएको नेपाली युवा उद्यमी मञ्चको २३ वर्षे यात्रामा यस साधारणसभालाई महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।
साधारणसभाले संस्थाको वार्षिक प्रगतिको समीक्षा गर्नुका साथै वैधानिक प्रतिवेदन अनुमोदन र आगामी रणनीतिक प्राथमिकतामाथि छलफल गरेको थियो। साथै, आगामी २०२६–२०२७ कार्यकालका लागि नेपाली युवा उद्यमी मञ्चको नयाँ राष्ट्रिय कार्यकारी परिषद् निर्वाचित गरिएको छ। परिषद्को अध्यक्षमा कंसाकारसँगै तत्कालीन पूर्वअध्यक्षमा सुदीप सिमिरे, प्रथम उपाध्यक्षमा निविर्ता प्रधान र द्वितीय उपाध्यक्षमा कृष्ण सापकोटा चयन भएका छन्।
नयाँ कार्यकारी सदस्यमा पवित्रबहादुर गौतम, रिचा श्रेष्ठ, सुबुन श्रेष्ठ, बिलाशा श्रेष्ठ, अभिमन्यु गोल्छा, तर्कराज भट्ट, दीपिका उपाध्याय सुवेदी, डा. सोनुकुमार र एल्भिस रञ्जित चयन भएका छन्। नवनिर्वाचित अध्यक्ष कंसाकारसहितको नेतृत्वले आफूहरूमाथि विश्वास व्यक्त गरी जिम्मेवारी प्रदान गरेकोमा सम्पूर्ण सदस्यप्रति आभार व्यक्त गरेको छ।
नयाँ नेतृत्वले सदस्यहरूको प्रभावकारी सहभागिता, नवीनता, सहकार्य तथा नीतिगत पैरवीमार्फत नेपाली युवा उद्यमी मञ्चका उद्देश्य र अभियानलाई थप सशक्त बनाउने प्रतिबद्धता जनाएको छ। साथै, उद्यमशीलताका लागि अनुकूल वातावरण निर्माण गर्न निरन्तर पहल गर्ने र नेपालको दिगो आर्थिक विकासमा योगदान पुर्याउने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
सन् २००३ मा स्थापना भएको नेपाली युवा उद्यमी मञ्च नेपालका युवा उद्यमीहरूको अग्रणी संस्था हो। देशका सातै प्रदेशमा रहेका १५ वटा शाखामार्फत मञ्चले १ हजार २ सयभन्दा बढी उद्यमीको प्रतिनिधित्व गर्दै आएको छ। दुई दशकभन्दा लामो समयदेखि मञ्चले नेतृत्व विकास, नीतिगत पैरवी, व्यावसायिक सञ्जाल विस्तार तथा क्षमता अभिवृद्धिका विभिन्न कार्यक्रम र पहलमार्फत नेपाली उद्यमीको नयाँ पुस्तालाई प्रेरित, एकीकृत र सशक्त बनाउँदै आएको छ। साधारणसभामा देशभरबाट सदस्य, विभिन्न शाखाका प्रतिनिधि, पूर्वअध्यक्ष, विशिष्ट अतिथि तथा विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो।








About Us
प्रतिक्रिया