काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारले आफ्नो वाचा र लक्ष्यअनुसार काम नगरे पार्टीले हस्तक्षेप गरेर सही बाटोमा ल्याउने बताएका छन्। उनले आवश्यक परे सरकारलाई ‘कान समातेर’ समेत सच्याउने राजनीतिक क्षमता पार्टीसँग रहेको उल्लेख गरे।
नेपाली युवा उद्यमी मञ्चको २२औँ वार्षिक साधारण सभामा शनिबार बोल्दै लामिछानेले सरकार अहिले आफ्नो निर्धारित मार्गबाट बाहिर नगएको तर भविष्यमा विचलित भए पुनः सही दिशामा फर्काइने बताए। ‘सरकारले आफ्नो वाचा र लक्ष्यअनुसार काम गर्छ। काम गर्न सकेन वा बाटो बिरायो भने सरकारलाई सही बाटोमा ल्याउने राजनीतिक पार्टी हामीसँग छ। आवश्यक परे जतिखेर पनि सरकारलाई कान समातेर सच्याउन सक्ने क्षमता पार्टीले राख्छ,’ सभापति लामिछाने भने।
सरकार सञ्चालनको अवस्थालाई हवाई यात्रासँग तुलना गर्दै उनले राजनीतिक क्षेत्रमा आउने उतारचढावलाई ‘टर्बुलेन्स’का रूपमा लिन आग्रह गरे। कहिलेकाहीँ राजनीतिक अफ्ठ्यारो, विवाद वा हल्ला आउने भए पनि त्यसलाई अस्थिरताको संकेतका रूपमा नबुझ्न उनले आग्रह गरे। ‘जहाज बादलभित्र छिर्दा हल्लिन सक्छ, तर त्यसैले दुर्घटना हुन्छ भन्ने हुँदैन। सरकार पनि आफ्नो गन्तव्यतर्फ अघि बढिरहेको छ,’ सभापति लामिछाने भने।
लामिछानेले प्रतिपक्षी दलहरूले सरकारविरुद्ध नकारात्मक प्रचार गरेर जनतालाई भ्रमित पार्न खोजिरहेको आरोप लगाए। राजनीतिक प्रतिस्पर्धा स्वाभाविक भए पनि वर्तमान सरकार आफ्नो प्रतिबद्धताबाट पछि नहट्ने उनको भनाइ थियो। ‘हामीले एक व्यक्तिले अर्को व्यक्तिलाई मात्र होइन, इतिहास र आउने पुस्तासँग वाचा गरेका छौँ। त्यो वाचाबाट पछि हट्ने छुट कसैलाई छैन,’ उनले बताए।
सरकार गठन भएको चार महिना पूरा भए पनि जनअपेक्षाअनुसार परिवर्तनको स्पष्ट अनुभूति अझै हुन नसकेको स्वीकार गर्दै लामिछानेले यो अवधिमा केही सकारात्मक संकेत देखिनुपर्ने बताए। नागरिकका सुझाव र गुनासाहरूलाई पार्टीले नजिकबाट सुनिरहेको उल्लेख गर्दै उनले सरकारलाई लक्ष्यभन्दा बाहिर जान नदिने प्रतिबद्धता व्यक्त गरे।
उनले रास्वपामा परिवर्तनको आकांक्षा बोकेका युवा तथा विभिन्न पेशागत क्षेत्रका विज्ञहरूको बलियो समूह रहेको दाबी गर्दै देश परिवर्तनका लागि यस्तो चेतना दुर्लभ अवसर भएको बताए। अप्ठ्यारो परिस्थिति आए पनि त्यसलाई सम्हाल्न सक्ने राजनीतिक नेतृत्व र जिम्मेवारी पार्टीसँग रहेको उनको भनाइ थियो।
लामिछानेले वर्तमान सरकार नागरिककै सरकार भएको उल्लेख गर्दै जनताको सहकार्यबाट इतिहासले दिएको जिम्मेवारी सफलतापूर्वक पूरा गरिने विश्वास व्यक्त गरे।







About Us
प्रतिक्रिया