असोज २३ देखि ‘नेपाल फिनटेक एक्स्पो २०२६’ आयोजना हुने


काठमाडौं – फिनटेक एलायन्स नेपाल (फ्यान) को आयोजनामा ‘नेपाल फिनटेक एक्स्पो २०२६’ को दोस्रो संस्करण आगामी असोज २३ देखि २५ गतेसम्म आयोजना हुने भएको छ। ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा तीन दिनसम्म सञ्चालन हुने एक्स्पोमा ६५ भन्दा बढी प्रदर्शनी कक्ष तथा दुईवटा विशेष ‘एक्सपेरियन्स जोन’ रहने आयोजकले जनाएको छ।

यस वर्षको एक्स्पोमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डिजिटल बैंकिङ्ग, डिजिटल भुक्तानी, इम्बेडेड फाइनान्स तथा लेन्डिङ टेक्नोलोजीलगायत अत्याधुनिक फिनटेक समाधानहरू प्रदर्शन गरिनेछन्। विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरूले आफ्ना नवीनतम प्रविधि तथा उत्पादनको औपचारिक लन्च र रिभिलसमेत एक्स्पोमार्फत गर्ने कार्यक्रम तय गरिएको छ।

आयोजकका अनुसार एक्स्पोमा ६ हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ। बैंक तथा वित्तीय संस्था, नियामक निकाय, लगानीकर्ता र प्रविधि स्टार्टअपहरूको उल्लेख्य सहभागिता रहने आयोजकको भनाइ छ। व्यावसायिक साझेदारी र नेटवर्किङलाई प्राथमिकता दिँदै एक्स्पोको पहिलो दिन विशेष ‘नेटवर्किङ डिनर’ आयोजना गरिनेछ। यस वर्ष पहिलोपटक ‘प्रिमियम लाउन्ज’ को समेत व्यवस्था गरिएको छ।

एक्स्पो अवलोकनका लागि साधारणतर्फ २०० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ टिकट शुल्क निर्धारण गरिएको छ। ‘खल्ती’लाई आधिकारिक टिकटिङ पार्टनर बनाइएको आयोजकले जनाएको छ। नेपालको फिनटेक इकोसिस्टम तथा डिजिटल रूपान्तरणलाई थप गति दिने उद्देश्यले आयोजना गर्न लागिएको एक्स्पोमा कर्पोरेट तथा अन्तर्राष्ट्रिय प्रदर्शकका लागि विभिन्न स्टल र सहकार्यका अवसरसमेत खुला गरिएको आयोजकले जनाएको छ।