बैंकिङ्ग डिस्कोर्श २०२६

‘मोबाइल बैंकिङ्ग र भुक्तानीमै सीमित बन्यो नेपालको फिनटेक’


धेरै टेक्नोलोजीहरूमा आबद्ध भएर गरिने कार्यलाई नै फिनटेक भनिन्छ। नेपालको सन्दर्भमा फिनटेकको कुरा गर्ने हो भने यो भुक्तानीमा निकै अगाडि छ। तर फिनटेकका अरू क्षेत्र र अरू पक्षमा धेरै काम भएको जस्तो लाग्दैन। त्यसैले पनि हामीले जति पनि फिनटेक वा डिजिटल बैंकिङ्ग भनिरहेका छौँ, ती सबै भुक्तानीभित्रै पर्छन्। फिनटेक भुक्तानीभन्दा बाहिर जान सकेको छैन। यो भन्दैमा अन्य पक्षमा काम नै भएको छैन भन्ने चाहिँ होइन। तर जसरी भुक्तानी अगाडि बढेको छ, त्यसैगरी अन्य पक्ष अगाडि बढ्न सकेको छैन। डिजिटल भन्ने बित्तिकै हामीले मोबाइल बैंकिङ्गलाई मात्रै हेर्ने गरेका छौँ। तर, आजको दिनमा बैंकको भुक्तानी एप्लिकेसनभन्दा बढी अन्य भुक्तानीका एप्लिकेसनहरू विकसित हुँदै गइरहेका छन्।

बैंकको खाता प्रयोग गरेपछि मात्रै मोबाइल बैंकिङ्ग प्रयोग गर्न पाइन्छ भने अन्य एप्लिकेसनहरू बैंकमा गएर खाता नखोली यत्तिकै पनि सहजै रूपमा सञ्चालन गर्न पाइन्छ। अन्य भुक्तानी सेवा प्रदायकहरू पनि डिजिटल ल्यान्डिङमा आइरहेका छन्। जसरी पेमेन्ट इकोसिस्टम अगाडि बढ्यो, त्यसरी नै अरू सिस्टम अगाडि बढ्न सकेको छैन। हामीले तुलना गर्दा पनि भुक्तानीलाई मात्रै तुलना गर्दै आइरहेका छौँ। छिमेकी मुलुक भारतको कुरा गर्ने हो भने भारतमा पनि भुक्तानी नै अगाडि छ। तर, पेमेन्टसँगै इन्स्योरेन्सको पोलिसी, इन्सुरटेक र लगानीको पक्षबाट उनीहरूले धेरै फड्को मारिसकेको अवस्था छ।

चीन र भारत लगायतका मुलुकहरूसँग हामीले जनसंख्याको आधारमा तुलना गर्ने हो भने हामी पछाडि परेको देखिन्छ। तर ट्रान्जेक्सनको नम्बर (कारोबार संख्या) लाई हेर्ने हो भने हामी पनि भारत र चीनकै तहमा छौँ। स्केलको हिसाबले हेर्दा भने हामी कतै पनि छैनौँ। भुक्तानीलाई अपग्रेड गर्ने हो भने अन्य पूर्वाधारसँगै प्रविधिहरू पनि प्रयोग गर्नु आवश्यक छ। भुक्तानी भनेको जुनसुकै प्रविधि अथवा जुनसुकै वित्तीय सङ्घ संस्थाहरूसँग आबद्ध हुन्छ। इन्स्योरेन्स, कर्जा, लगानी हरेक पक्षमा भुक्तानी जोडिएर आएको हुन्छ।

अहिले डिजिटलको कुरा गर्दै गर्दा डिजिटल ठगी पनि बढिरहेको छ। साइबर ब्युरोमा हामीले जति पनि केसहरू हेर्छौँ, त्यसमा सबैभन्दा बढी ठगीका केसहरू हुन्छन्। सिस्टम ह्याक गरेर पनि रकम लगेका केसहरू छन्, तर त्यति धेरै केसहरू त्यो होइन। ह्याकिङलाई टेक्नोलोजीको माध्यमबाट विभिन्न सुरक्षाहरू प्रयोग गरेर रोक्न सकिने अवस्था छ। ठगी नियन्त्रण गर्न हामी सक्षम पनि छौँ। तर कसरी ठगी हुन्छ भन्ने कुरा धेरैलाई थाहा हुँदैन।


भारतमा हेर्ने हो भने जब डिजिटल भुक्तानी सुरु भयो, त्यसपछि सानादेखि ठुला ठगीहरू धेरै भए। त्यसपछि भारतीय रिजर्व बैंकले धेरै नीतिगत व्यवस्था ग¥यो। ठगी कसरी हुन्छ र ठगी कसरी अन्त्य हुन्छ भनेर हामीले बुझ्नुपर्छ। अहिले डिजिटल ठगीमा ‘म्यूल खाता’ (चोरिएका वा अरूको नाममा खोलिएका खाता) हरू प्रयोग भएको पाइन्छ। म्यूल खाताहरू भएकाले ट्रयाकिङ पनि हुन सकेको छैन। त्यस्ता खातामा केवाइसी र केवाइएम जुन तहमा गर्नुपर्ने हो, त्यो हुन सकेको छैन। ठगीको सुरुवात नै अकाउन्टबाट भएको छ। यो पैसा हराएको वा चोरिएको होइन। एउटा खाताबाट धेरै खातामा पैसा पठाइन्छ र अन्त्यमा कुनै एउटा खाताबाट निकालिएको हुन्छ। यसैले पनि म्यूल खातालाई कसरी रोक्ने भन्ने पक्षमा हामीले काम गर्नुपर्नेछ।

ठगी नियन्त्रणमा फोनपे जस्ता कम्पनीहरूले पनि काम गर्न सक्छन्। हामीसँग धेरै वटा नेटवर्क भएका कारण नेटवर्क कन्ट्रोल गर्न सकिन्छ। बैंक तथा वालेट खाताबाट गल्ती भएको अवस्थामा हामीजस्तो संस्थाले त्यसलाई रोक्न सक्छौँ। भारतीय केन्द्रीय बैंकले आज नै खाता खोलेर १० लाखको कारोबार भएको पाइएपछि कुलिङ पिरियड राख्ने हो कि भन्ने किसिमको नीति ल्याएको छ। नेपाल राष्ट्र बैंकले पनि खातालाई फ्रिज गर्ने नीतिहरू ल्याएको छ।

ठगीका क्रममा धेरै बैंक खाताहरू प्रयोग हुने गरेको पाइन्छ। यस्तो समयमा पहिलो बैंकले तेस्रो बैंकको खाता होल्ड गर्न मिल्ने नीति ल्याउनुपर्ने हुन्छ। यसका लागि हामीले छुट्टै गाइडलाइन्स नै जारी गरेर काम गर्नुपर्छ। बढी ठगी हुनुको मुख्य कारण भनेको डिजिटल साक्षरता नहुनु वा नबुझ्नु नै हो। पीटुएम ट्रान्जेक्सनमा ठगीका घटनाहरू कम हुने गरेका छन्। तर, अहिले पीटुएम भुक्तानी पनि पीटुपीमा हुने गरेको छ क। यसलाई तत्काल समाधान गर्नुपर्ने हुन्छ। एउटा पीटुपी भुक्तानीमा केही समय दिँदा पुरै सिस्टम नै बिग्रन पुग्छ। त्यसैले पनि डेटा र भिजिबिलिटीमा रहेर काम गरेर यसको समाधान गर्न सकिन्छ।
(बैंकिङ्ग डिस्कोर्शको चौथो सत्र बैंकिङ्ग भविष्य: एआई, साइबर सुरक्षा र फिनटेक विषयक सत्रमा फोनपेका सीईओ दिवसकुमार सापकोटाले राखेका विचारमा आधारित)