बैंकिङ्ग डिस्कोर्श २०२६

‘बैंकमा पैसाको कमी छैन, लगानीकर्तामा विश्वासको कमी छ’


चारवटा कुरालाई हामीले निरुत्साहित गर्नुपर्छ जस्तो लाग्छ। विशेषगरी आसन, शासन, भाषण र रासनका कार्यक्रमहरू कम हुनुपर्छ। म यहाँहरू सबैजनालाई सम्बोधन गर्दै के भन्न चाहन्छु भने, यसो गर्दा जोखिम पनि हुन्छ र छिट्टै नाम छोट्टिएला कि भन्ने डर पनि हुन्छ। त्यसैले म त्यतातर्फ अल्झिन चाहन्नँ। मैले दुई–तीनवटा कुराबाट आफ्नो भनाइ सुरुवात गर्न चाहेँ।
पहिलो कुरा, नेपालको बैंकिङ्ग क्षेत्र निकै समावेशी भएको चरणमा हामी पुगेका छौँ। तर, लैङ्गिक रूपमा नेतृत्व तह अझै समावेशी भइसकेको देखिँदैन। म आयोजक राजुजीलाई अनुरोध गर्न चाहन्छु कि आगामी संस्करणहरूमा हामीले स्टेजमै पनि लैङ्गिक समानता देख्न पाऔँ।

सम्भवतः यो हलमा बैंकिङ्ग क्षेत्रका बारेमा सबैभन्दा कम जानकार व्यक्ति म नै हुँला। तपाईंहरू सबैजना यस क्षेत्रको विज्ञ हुनुहुन्छ, कुरा बुझ्नुभएको छ। मेरो प्राज्ञिक पृष्ठभूमि बैंकिङ्ग र फाइनान्स होइन। म मार्केटिङ, पोलिटिकल साइन्स र साहित्य पढेको मान्छे हुँ। संसदीय अभ्यासका क्रममा पनि मैले बैंकिङ्ग क्षेत्रसँग सम्बन्धित काम धेरै गर्ने अवसर पाइनँ। म सार्वजनिक लेखा समिति, उद्योग समिति र पार्टीभित्र पनि प्रचार विभाग लगायत अन्य विभिन्न विभागहरूमा सक्रिय रहेँ। त्यसैले बैंकिङ्ग क्षेत्रको मति धेरै प्राविधिक ज्ञान नभए पनि, विगत १४ वर्षदेखि एक उद्यमीका रूपमा काम गरिरहेको छु। म ‘ट्याक्स नेपाल’ नामक अनुसन्धान कम्पनीको संस्थापक र सञ्चालक हुँ। त्यही आधारमा बैंकिङ्ग क्षेत्रका बारेमा केही सामान्य जानकारी छ। अहिले नीति निर्माताका रूपमा काम गर्दै गर्दा, बजारका कुराहरू सुन्दा र समाचारहरू बुझ्दा प्राप्त भएका अनुभवका आधारमा केही विषय राख्न चाहन्छु।

मलाई लाग्छ, बैंकिङ्ग विश्वका ती उत्कृष्ट चार / पाँच पेसाहरूमध्ये एक हो, जुन सबैको सपनामा हुन्छ। आफ्नो करियरका बारेमा सोच्दै गर्दा कुनै कालखण्डमा मानिसले चलचित्रको अभिनेता बन्ने सोच्ला, कसैले एभिएसन वा डाक्टर बन्ने सोच्लान्। तर, एउटा न एउटा चरणमा मानिसले बैंकिङ्ग पेसाको पनि सपना देखेकै हुन्छ। त्यसैले यो एक अत्यन्तै सम्मानित पेसा हो। यो विधा निकै स्वच्छ, व्यावसायिक, प्रक्रियामुखी र परिणाममुखी देखिन्छ। मैले इतिहास हेरेको थिएँ पैसाको आविष्कार हुनुभन्दा अगाडि नै बैंकिङ्ग अभ्यास सुरु भइसकेको रहेछ। पैसा पछि आयो, तर ऋण दिने संस्कृति पहिले नै आइसकेकाले बैंकिङ्ग अभ्यास अघि नै सुरु भएको हो।

भूराजनीतिक इतिहास हेर्दा, १३औँ शताब्दीमा मात्र मानिसले बचतको महत्त्व बुझे। जबसम्म मानिस हातमुख जोर्ने कुरामै सीमित थिए, तबसम्म बचतको अवधारणा थिएन। तर, १३औँ शताब्दीमा मानिसले दैनिक जीवनभन्दा माथि उठेर भविष्यका लागि पनि सोच्नुपर्ने रहेछ भनी बचतको सुरुवात गरे। त्यसपछि नै भूराजनीति र भूअर्थतन्त्र को उत्पत्ति भयो।भूराजनीति र भूअर्थतन्त्रमा तीनवटा अवयवहरू अत्यन्तै महत्त्वपूर्ण मानिन्छन् स्रोत, उत्पादकत्व र बजार। आजको दिनमा पनि यी तीनवटै कारकहरू उत्तिकै महत्त्वपूर्ण छन्। जब हामी उद्यमशीलता, आविष्कार, आर्थिक वृद्धि, मूल्य अभिवृद्धि र दिगोपनाको कुरा गर्छौँ, त्यहाँ यी तत्त्वहरू जोडिएर आउँछन्। मैले केही विश्वविद्यालयहरूमा उद्यमशीलता पढाउँदा र आफैँले अभ्यास गर्दा उद्यमशीलताका तीनवटा खम्बाहरूलाई महत्त्वपूर्ण मानेको छु सीपमा पहुँच, स्रोतमा पहुँच र बजारमा पहुँच।

हामीलाई उद्यमशीलता भन्दा जहिले पनि ‘उद्यमी’ मात्र हुन सिकाइयो, तर उद्यम निर्माणको प्रक्रिया बढी महत्त्वपूर्ण हुन्छ। बैंकिङ्ग क्षेत्रमा पनि कर्जा र खाताको मूल्याङ्कन गर्दा यिनै दिगोपना, वृद्धि र मूल्य अभिवृद्धिका पाटाहरू हेरिन्छन्। नेपालको वित्तीय इतिहासलाई फरक ढङ्गले हेर्ने हो भने, ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंकहरूको तथ्याङ्क रोचक छ। मैले अघि वक्ताहरूलाई पनि सोध्दै थिएँ इन्टरनेट बैंकिङ्ग र मोबाइल बैंकिङ्ग लाई कसरी फरक छुट्याउने भनेर।

नेपालमा सन् १९८० को दशकमा पहिलोपटक ‘अल्पाइन ट्राभल’ ले एटीएम कार्ड भित्र्याएको थियो। बैंकहरूको तर्फबाट भने नबिल बैंकले सन् १९९० मा पहिलोपटक एटीएम सेवा सुरु गर्‍यो। यसरी हेर्दा नेपालमा एटीएम कार्डको अभ्यास सुरु भएको ४१ वर्ष भयो र यो अवधिमा १ करोड ३८ लाख कार्डहरू प्रयोगमा आएका छन्।

अर्कातर्फ, मोबाइल बैंकिङ्गकाे इतिहास जम्मा २२ वर्ष जति मात्रै छ, अझ आक्रामक रूपमा अभ्यास भएको त १६ वर्ष मात्र भयो। तर, यो छोटो अवधिमै २ करोड ९७ लाख मोबाइल बैंकिङ्ग खाताहरू सिर्जना भइसकेका छन्। हामी कुन गतिमा दौडिरहेका छौँ भन्ने यसले देखाउँछ। हाम्रा अर्थमन्त्रीज्यू पनि भन्नुहुन्छ कि हाम्रो आर्थिक वृद्धि र भविष्यको निर्भरता ‘भारविहीन र अवरोधविहीन अर्थतन्त्र’ मा छ, जहाँ दूरी र तौलको सान्दर्भिकता निकै कम हुन्छ; जस्तै सफ्टवेयर, पर्यटन आदि।

यस क्षेत्रमा उच्च नवप्रवर्तन र प्रतिस्पर्धा छ। मेरो कम्पनीले कहिलेकाहीँ वित्तीय क्षेत्रमा मिस्ट्री शपिङ गर्ने गर्छ। सन् २०१४ मा अमेरिकामा पढ्दा मैले यसको इन्टर्नशिप गरेको थिएँ, पछि हामीले नेपालको बैंकिङ्ग क्षेत्रमा पनि यो सेवा भित्र्याएर अहिले केही बैंकहरूका लागि काम गरिरहेका छौँ। त्यहाँ हामीले यो तीव्र प्रतिस्पर्धालाई नजिकबाट नियालेका छौँ।

अहिले निक्षेप र सेवाहरू राम्रा छन्, तर मुलुकमा आर्थिक संकटको चर्चा छ। वास्तविकता के हो भने, बैंकिङ्ग क्षेत्रमा पैसाको अभाव छैन, बरु आत्मविश्वासको कमी देखिएको छ। पैसा कहाँ लगानी गर्ने, कसरी गर्ने र कुन आधारमा गर्ने भन्ने विषयमा नीतिगत, नैतिक र भावनात्मक आधारमा आत्मविश्वास देखिन सकेको छैन। यसअघिका वक्ताहरूले पनि भनिसक्नुभएको छ हाम्रा कतिपय कमजोरीहरू छन्, अनावश्यक व्यवधानहरू सिर्जना गरिएका छन्, जसमा सुधार आवश्यक छ। हामी गम्भीर हुनुपर्छ, एकताबद्ध हुनुपर्छ र एकअर्कालाई बुझ्ने वातावरण बनाउनुपर्छ। केवल एउटा दृष्टिकोणबाट मात्र सोचेर पुग्दैन

मेरो एउटा प्रश्न छ, सुधार त दुवैतर्फ आवश्यक छ, होइन र? के यो कुराको महसुस हामीलाई छ? के हामी सबैले कतै पनि गल्ती भएको छैन, अर्को पक्ष मात्रै कमजोर र गलत हो भन्न सक्छौँ? पक्कै सक्दैनौँ। यदि ८० प्रतिशत कमजोरी राज्य वा नीतिगत तहको होला, तर बाँकी २० प्रतिशत कमजोरी त अर्को पक्षको पनि होला नि? हामीले गल्तीहरू सुधार्नुपर्छ। कर्जा प्रवाह र मिलानमा पनि कतै न कतै कमजोरी भएका छन्। म जनकपुर जाँदा मन्दिरको जग्गा दुरुपयोगको विषयमा छलफल भएको थियो। मैले त्यहाँ भनेको थिएँ, जब पुजारी नै भ्रष्ट हुन्छ भने मन्दिरको के दोष? त्यसैले बैंक, बैंकर र बैंकिङ्ग प्रक्रियालाई हामीले छुट्याएर हेर्नुपर्छ। बैंकको बोर्ड, लोगो वा ब्राण्ड आफैँमा दोषी हुँदैनन्, तर बैंकिङ्गका कतिपय अभ्यासहरूमा सुधार आवश्यक देखिएको छ।

राज्यको तर्फबाट, सत्ताधारी दलको प्रवक्ताको तर्फबाट म ८० प्रतिशत जिम्मेवारी लिन तयार छु। राज्यले कतिपय ठाउँमासुन्नुको साटो सिधै कारबाहीको बाटो रोजेको छ, जुन एउटा उद्यमीका नाताले म पनि गलत मान्छु। तर, बाँकी २० प्रतिशतको जिम्मेवारी कसले लिने? के त्यहाँ कुनै खोट नै छैन र? त्यसैले दुवैतर्फ सुधार नभई सुखै छैन। तपाईंहरूले भोग्नुभएको पीडा म महसुस गर्न सक्छु। इतिहास हेर्दा सन् १९९० को दशकमा टर्की र भारतको अवस्था, २००५ तिर मलेसिया र हालै साउदी अरेबियाको रूपान्तरणको प्रक्रियामा राज्यले आफूलाई सुधार्दै लगेको देखिन्छ। टर्कीको १९८० को दशकको नीतिगत संरचना हेर्ने हो भने, राज्य र निजी क्षेत्रसँगै मिलेर तीनवटै खम्बाहरू बदलिएपछि मात्रै देश बदलिएको हो।

त्यसैले हामीले पनि आफ्ना अभ्यासहरू सुधार्नुपर्छ। २० प्रतिशतको जिम्मेवार को हो, त्यो तपाईंहरू पहिल्याइदिनुस्, ८० प्रतिशतको जिम्मेवार म खोज्छु। हामी सदनमा हुने सांसदहरूलाई बुझाउँछौँ, बैंकिङ्ग क्षेत्रको रक्षा गर्छौँ। यसरी नै हामीले सुधार गर्ने हो।यो सुधारका लागि निश्चित अनुशासन, सदाशयता र निरन्तर संवाद आवश्यक पर्छ। निजी क्षेत्र र राज्य संवादको वातावरण बनाएर अगाडि बढ्नुपर्छ, र निजी क्षेत्रको सबैभन्दा बलियो खम्बा नै बैंकिङ्ग क्षेत्र हो। यस्तै छलफल र संवादका लागि यो चौथो संस्करणको कार्यक्रम अत्यन्तै महत्त्वपूर्ण छ।

म राजुजी र उहाँको टोलीलाई बधाई दिन चाहन्छु। सन् २०१९ मा जनकपुर साहित्य महोत्सव सुरु गर्दा मानिसहरूले मलाई यस्ता कार्यक्रम चाहिन्छन् र भनेर सोध्थे, तर आज देशभरका साथीहरूले यसलाई अपनत्व दिनुभएको छ। सन्तोषजी लगायतका दाइहरूले यसपालि सहयोग गरिरहनुभएको छ। त्यसैले यस्ता कार्यक्रमहरूलाई टिकाइराख्नु कति चुनौतीपूर्ण हुन्छ भन्ने कुरा म बुझ्दछु। यस कार्यक्रमको निरन्तरता र यसबाट प्राप्त हुने ज्ञान तथा बुझाइका लागि म आयोजक टोलीलाई शुभकामना दिन्छु।साथै, म मनोजजीलाई पनि धन्यवाद दिन चाहन्छु, जसले हालै बजेट आएपछि फेसबुकमा बजेटलाई निकै सरल भाषामा बुझाइदिनुभयो, जसलाई कपी–पेस्ट गरेर धेरैलाई पठाउन हामीलाई सहज भयो। यस्तै कुराहरूले नै हामीले एकअर्कालाई सहयोग गर्ने हो र देशलाई अगाडि बढाउने हो।मलाई यहाँ आमन्त्रण गरेर मेरो सामान्य विचारलाई पनि धैर्यतापूर्वक सुनिदिनुभएकोमा आयोजक तथा सम्पूर्ण सरोकारवालाहरू प्रति हार्दिक कृतज्ञता र आभार व्यक्त गर्दछु।
धन्यवाद, जय देश !

( सांसद झाले बैंकिङ्ग डिस्कोर्शको उद्घाटन सत्रमा राखेको मन्तव्यबाट)