पाथीभरामा चढाइएको सुनचाँदी प्रशोधन ५० तोला सुन प्राप्त


ताप्लेजुङ – ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा दर्शनार्थीले चढाएका सुन तथा चाँदी प्रशोधन (रिफाइन) गरिएको छ। करिब दुई वर्षको अवधिमा सङ्कलन भएका सुन तथा चाँदी पाथीभरा क्षेत्र विकास समितिले रिफाइन गरेको हो।

समितिका जिन्सी शाखा प्रमुख इन्द्र पौडेलका अनुसार विसं २०८० पुस २५ गतेदेखि विसं २०८२ फागुन २५ गतेसम्म मन्दिरमा चढाइएका सुनचाँदी सङ्कलन गरी प्रशोधन गरिएको हो। उक्त कार्य पाथीभरा सुनचाँदी कला व्यवसायी सङ्घको प्राविधिक सहयोगमा सम्पन्न गरिएको समितिले जनाएको छ।

समितिका सूचना अधिकारी नवीन निरौलाका अनुसार करिब २६ महिनाको अवधिमा सङ्कलित ६७ तोला सुन र ४३ किलोग्राम चाँदी रिफाइन गरिएको छ। सुनचाँदी व्यवस्थापन उपसमितिका संयोजक चेतराज घिमिरेले ६७ तोला प्रशोधनपछि ५० तोला ८५ लाल बराबरको २४ क्यारेट (एक नम्बर) सुन प्राप्त भएको जानकारी दिए।

उनका अनुसार ४३ किलोग्राम चाँदी रिफाइन गर्दा दुई हजार ५४ तोला ३५ लाल बराबरको शुद्ध चाँदी उत्पादन भएको छ।भण्डारणमा रहेका सुनचाँदी लिलामीका लागि नयाँ कार्यविधि तयार गरी यथाशीघ्र बिक्री प्रक्रिया अघि बढाउने तयारी भइरहेको कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए। पछिल्लो समय सुनको मूल्यमा भइरहेको उतारचढावका कारण लिलामी प्रक्रिया प्रभावित भएको जनाउँदै उनले समितिमार्फत प्रभावकारी र व्यवस्थित प्रणाली अपनाउने तयारी भइरहेको बताए।