युद्धको जोखिमकाबीच पनि वित्तीय प्रणाली स्थिर रहेको आईएमएफको निष्कर्ष


एजेन्सी -पश्चिम एसियामा जारी युद्धले विश्वव्यापी वित्तीय बजारलाई चुनौती दिए तापनि हालसम्मको प्रणाली लचिलो र स्थिर देखिएको अन्तर्राष्ट्रिय मुद्रा कोषले जनाएको छ। आईएमएफका मौद्रिक तथा पूँजी बजार विभागका निर्देशक टोबियास एड्रियनले मंगलबार ‘ग्लोबल फाइनान्सियल स्टेबिलिटी रिपोर्ट’ सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन्।

निर्देशक एड्रियनका अनुसार युद्धका कारण उत्पन्न तनावका बीच पनि बैंकहरूमा पर्याप्त पूँजी र तरलता रहेका कारण वित्तीय प्रणाली सुरक्षित देखिएको छ। प्रेस ब्रिफिङका क्रममा एड्रियनले भने, ‘अहिलेसम्म वित्तीय प्रणालीले निकै लचिलोपन देखाएको छ। बजारहरू व्यवस्थित रूपमा सञ्चालन भइरहेका छन् र विभिन्न देशका केन्द्रीय बैंकहरूले तरलता सुविधामार्फत बजारलाई बलियो समर्थन गरिरहेका छन्।’

यद्यपि, अहिलेको अवस्थामा ढुक्क भएर बस्ने ठाउँ भने नरहेको उहाँको चेतावनी छ। विशेषगरी नीतिगत सीमितता भएका देशहरूले वित्तीय स्थिरता कायम राख्न आफ्ना आन्तरिक कमजोरीहरूलाई नजिकबाट नियाल्नुपर्ने आईएमएफको सुझाव छ।

आईएमएफले केही देशहरूमा बढ्दो ऋणको भार र ‘रोलोभर रिस्क’ (ऋण भुक्तानीका लागि पुनः ऋण लिनुपर्ने अवस्था) का कारण ऋणपत्र बजार कमजोर बन्न सक्ने औंल्याएको छ। यसका साथै, निजी क्षेत्रको कर्जा प्रवाह र प्रविधि क्षेत्रमा भइरहेको लगानीमा देखिन सक्ने जोखिमलाई पनि प्रमुख चासोको विषय बनाइएको छ।

नीति निर्माताहरूको काम सम्भावित झट्काहरूको भविष्यवाणी गर्नु मात्र होइन, बरु ती जोखिमहरूलाई बेलैमा बुझ्नु र स्थिरता खलबलिन नदिन आवश्यक कदम चाल्नु हो’ एड्रियनले थपे।