विश्व अर्थतन्त्रमा पश्चिम एसिया युद्धको प्रभाव, आर्थिक वृद्धिदर खुम्चिने आईएमएफको प्रक्षेपण

नेपाल जस्ता विकासशील राष्ट्रमा महँगीको बादल


वासिङ्टन डीसी -अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले पश्चिम एसियामा जारी युद्धका कारण विश्वव्यापी आर्थिक वृद्धिदर सुस्त हुने चेतावनी दिएको छ। आईएमएफले आफ्नो पछिल्लो ‘वर्ल्ड इकोनोमिक आउटलुक’ प्रतिवेदन सार्वजनिक गर्दै सन् २०२६ मा विश्वको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको हो।

यसअघि विश्व अर्थतन्त्रले सोचेभन्दा राम्रो सुधार गरिरहेको भए पनि पश्चिम एसिया द्वन्द्वले त्यसलाई पूर्ण रूपमा अवरुद्ध गरिदिएको आईएमएफको प्रक्षेपण छ। यो युद्धले विश्व अर्थतन्त्रमा मन्दी नै ल्याउन सक्ने चेतावनी कोषले दिएको छ।

आईएमएफका मुख्य अर्थशास्त्री पिएर ओलिभर गोरिन्चासले एक प्रेस ब्रिफिङमा बोल्दै विश्व अर्थतन्त्रले गत वर्ष देखाएको उत्साहजनक लयलाई युद्धले रोकिदिएको बताए। उनले विशेष गरी तेल र ग्यास आपूर्तिको प्रमुख मार्ग ‘स्ट्रेट अफ हर्मोज’ मा उत्पन्न अवरोध र ऊर्जा पूर्वाधारमा पुगेको क्षतिले विश्वव्यापी ऊर्जा संकट निम्त्याउन सक्ने तर्फ सचेत गराएका छन्।

प्रतिवेदन अनुसार, यदि द्वन्द्वको उचित समाधान चाँडै नखोजिएमा यसले विश्वभर इन्धनको मूल्य बढाउने र उत्पादन लागतमा वृद्धि ल्याउनेछ। आईएमएफले वर्तमान अनिश्चिततालाई ध्यानमा राख्दै दुईवटा विशेष परिदृश्यहरू अघि सारेको छ।

पहिलो ‘प्रतिकूल परिदृश्य’ अन्तर्गत इन्धनको मूल्य बढ्दै गएमा र वित्तीय अवस्था कडा भएमा आर्थिक वृद्धिदर २.५ प्रतिशतमा झर्न सक्छ। त्यस्तै, यदि ऊर्जा आपूर्तिमा हुने अवरोध अर्को वर्षसम्मै तन्किएमा र म्याक्रो इकोनोमि अस्थिरता बढेमा वृद्धिदर २ प्रतिशतमा खुम्चिने जोखिम बढेको कोषको चेतावनी छ।

यस मन्दीको मार सबै देशमा एकनासको हुने छैन। आईएमएफका अनुसार खाडी मुलुकहरूमा यसको असर सबैभन्दा गम्भीर देखिनेछ। तर, नेपाल जस्ता न्यून आय भएका र इन्धन आयातमा निर्भर मुलुकहरू यसबाट उच्च जोखिममा रहनेछन्।

इन्धनको मूल्य बढ्दा ढुवानी महँगो भई दैनिक उपभोग्य वस्तुको मूल्य बढ्ने (मुद्रास्फीति) र विदेशी मुद्रा सञ्चितिमा दबाब पर्ने देखिन्छ। साथै, खाडी मुलुकको अर्थतन्त्रमा आउने गिरावटका कारण वैदेशिक रोजगारीमा रहेका नेपाली र रेमिट्यान्स प्रवाहमा समेत नकारात्मक प्रभाव पर्न सक्ने जोखिम छ।