काठमाडौं – प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा आइतबार आयोजित कार्यक्रमबीच नेपाल प्रहरी अस्पताल महाराजगन्जको ४२औँ वार्षिकोत्सव समारोह सम्पन्न भएको छ। सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरी अस्पतालमा आउने सेवाग्राहीको सेवा एवम् सुविधाको हेतुले अस्पताल परिसरमा नवनिर्मित गर्भाशय भित्र गर्भाधान (आइयुआई) र इन भिट्रो निषेचन (आईभिएफ) ल्याबको उद्घाटन गर्नुका साथै उक्त ल्याबको अवलोकन समेत गरे ।
सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरी अस्पताल मनोचिकित्सा विभागका प्रमुख प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक डा. आशिष दत्तलाई इलेक्ट्रोकन्भल्सिभ थेरापी मेसिन हस्तान्तरण गरे। साथै उनले अस्पतालको वर्ष भरिका विविध गतिविधि, उपलब्धी, सेवा प्रवाह र स्वास्थ्यमूलक लेखहरू समेटेर प्रकाशन गरिएको वार्षिक स्मारिका ‘अस्पताल दर्पण– २०८२’ को लोकार्पण समेत गरे । सो अवसरमा उनले विशेषज्ञ चिकित्सकहरू तथा नेपाल प्रहरी अस्पतालमा कार्यरत प्रहरी कर्मचारीहरू लगायतलाई कदर पत्र प्रदान गरे।
समारोहमा कार्कीले नेपाल प्रहरी अस्पतालको क्रमिक विकास, विस्तार एवम् अस्पताललाई हालको स्तरसम्म पुर्याउन सम्पूर्ण अग्रजहरूले निर्वाह गर्नुभएको भूमिका तथा योगदानको प्रशंसा गरे । प्रहरी कर्मचारीहरूमा साङ्गठनिक उद्देश्य प्राप्तिका लागि जोखिमको सामना गर्ने आँट र हिम्मत प्रहरी कर्मचारी तथा तिनका परिवारजनले सङ्गठनबाट प्राप्त गर्ने सेवा र सुविधाको गुणस्तरसँग प्रत्यक्ष जोडिएको हुँदा यसतर्फ विशेष सजगता अपनाई चिकित्सक र सेवाग्राहीबीच भावनात्मक सम्बन्धको विकास गर्दै आत्मीय व्यवहारका साथ अस्पतालले सेवा प्रवाह गर्नुपर्ने उनले बताए।
महानिरीक्षक कार्कीले नयाँ जनादेश प्राप्त सरकारबाट सुशासन, पारदर्शीता र प्रभावकारी सेवा प्रवाहलाई विशेष प्राथमिकता दिइएको सन्दर्भमा नेपाल प्रहरी अस्पतालले पनि आफ्नो सेवा प्रणालीलाई अझ सुदृढ, व्यवस्थित र उत्तरदायी बनाई दायित्व वहन गर्ने विश्वास लिएको बताए । प्रहरीको दैनिक जीवनशैली र काम कारबाही आफैमा संवेदनशील एवम् शारीरिक तथा मानसिक रूपमा जोखिमपूर्ण रहेको र कार्य बोझ समेत धेरै हुने हुँदा स्वास्थ्य सम्बन्धी सबै गुनासोहरूलाई उचित सम्बोधन गरी अस्पतालले सम्पूर्ण दृष्टिकोणबाट सेवाग्राहीमैत्री, व्यावसायिक र उच्च गुणस्तरीय सेवा प्रवाह गर्न जरुरी रहेको उनले बताए ।
विगतमा देखिएका कमी कमजोरीहरूलाई सुधार गर्दै आगामी दिनमा अस्पतालले विद्यमान सेवाहरूलाई अझ प्रभावकारी र व्यवस्थित गर्दै अस्पतालको स्तरोन्नति र दीर्घकालीन विकासका लागि सुधारका क्षेत्रहरू पहिचान गरी ठोस योजना बनाएर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।



About Us
प्रतिक्रिया