वीरगन्ज नाकाबाट सात महिनामा भित्रियो १ अर्ब ४८ करोड बराबरको ४ सय ९७ वटा विद्युतीय गाडी भित्रियो


वीरगन्ज – वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा १ अर्ब ४८ करोड ६४ लाख मूल्य पर्ने ४९७ वटा विद्युतीय जिप, कार र भ्यान आयात भएको छ । ती विद्युतीय सवारीसाधनको आयातबाट कार्यालयले रु ९६ करोड ३६ लाख राजस्व सङ्कलन गरेको छ ।

जबकि गत आवको सोही अवधिमा भने ४३ करोड एक लाख मूल्य पर्ने १६५ वटा विद्युतीय, जिप, कार र भ्यान आयात भएको छ । ती सवारीसाधनको आयातबाट कार्यालयले ३५ करोड ५० लाख राजस्व सङ्कलन गरेको थियो ।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार गत आवको सात महिनाको तुलनामा विद्युतीय सवारीसाधनको आयात ह्वात्तै बढेको छ । चालु आवको सात महिनामा ८० करोड ५७ लाखका मूल्यका १ हजार १ सय २८ वटा विद्युतीय मोटरसाइकल आयात भएको छ । जबकि गत आवको सोही अवधिमा भने ४४ करोड तीन लाख मूल्यका ३ हजार ३७४ वटा विद्युतीय मोटरसाइकल आयात भएको थियो ।

चालु आवको सात महिनामा १ अर्ब १६ करोड १३ लाखका ६०९ वटा इन्धनबाट चल्ने जिप, कार र भ्यान आयात भएको छ । ती सवारीसाधनको आयातबाट कार्यालयले २ अर्ब ८६ करोड राजस्व सङ्कलन गरेको छ । जबकि गत आवको सात महिनामा भने १ अर्ब ५० करोड मूल्यका सात सय ४८ वटा इन्धनबाट चल्ने जिप, कार र भ्यान आयात भएको थियो । सो आवमा इन्धनबाट चल्ने सवारीसाधन आयातबाट ३ अर्ब ७३ करोड राजस्व सङ्कलन भएको थियो ।

कार्यालयले चालु आवको सात महिनामा २३ अर्ब ५७ करोड मूल्यका सवारीसाधन तथा पार्टपुर्जा भित्रिएका छन् । जबकि गत आवको सात महिनामा १७ अर्ब १५ करोड मूल्यका सवारीसाधन र पार्टपुर्जा आयात हुँदा १३ अर्ब २६ करोड राजस्व सङ्कलन भएको थियो ।