काठमाडौं – राजनीतिमा सम्बन्धहरू सधैँ सीधा र स्थिर हुँदैनन्। कहिले नजिक, कहिले टाढा-कहिले सहकार्य, कहिले टकराब। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलबीचको सम्बन्ध यस्तै जटिल मनोवैज्ञानिक अवस्थाको रूपमा देखिन्छ। जसलाई ‘लभ–हेट रिलेसनसिप’ भनिन्छ।
विश्वविख्यात मनोविश्लेषक सिग्मण्ड फ्रायडको ‘भावनात्मक द्विविधाको सिद्धान्तले एउटै व्यक्तिप्रति एकै पटक माया र घृणा दुवै भावना हुनसक्ने मनोवैज्ञानिक अवस्थितिलाई व्याख्या गरेको छ। पछि अर्का मनोविश्लेषक मेलान क्लेनले यसलाई’ माया र घृणाको संघर्ष भन्दै थप व्याख्या गरेकी थिइन्। यही सैद्धान्तिक धरातलमा हेर्दा वाग्ले–पौडेल सम्बन्धलाई बुझ्न सकिन्छ।
एक समय वाग्ले र पौडेलबीच घनिष्ठता मात्र होइन, सहकार्य पनि थियो। वाग्लेसँगको निकटताले नै पौडेललाई स्थापित अर्थशास्त्रीको रूपमा चिनाउन मद्दत पुगेको चर्चा हुने गरेको छ। तर, राजनीतिक उतारचढावले यो सम्बन्धमा दरार ल्यायो।
विशेषगरी वाग्ले नेपाली कांग्रेसमै रहँदा प्रतिनिधिसभा निर्वाचनको टिकट वितरणमा भएको आन्तरिक संघर्षले सम्बन्धलाई सतहमा ल्यायो। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा.आरजु राणा देउवासँगको टकराव र त्यसक्रममा विश्वनाथ पौडेलसँगको असन्तुष्टि खुल्दै गयो।

काङ्ग्रेसबाट टिकट नपाएपछि वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरे। रोचक के छ भने वाग्लेले चुनाव जिते, तर पौडेलले पराजय भोगे। यही मोडपछि सम्बन्धमा चिसोपन अझ बढेको देखियो। पौडेलले सामाजिक सञ्जालमा वाग्लेलाई लक्षित गर्दै व्यङ्ग्यात्मक स्ट्याटस लेख्न थालेको चर्चा चल्यो। तर वाग्ले भने सार्वजनिक रूपमा प्रत्यक्ष प्रतिक्रिया दिनबाट टाढै रहे।
विश्वविख्यात मनोविश्लेषक सिग्मण्ड फ्रायडको ‘भावनात्मक द्विविधाको सिद्धान्तले एउटै व्यक्तिप्रति एकै पटक माया र घृणा दुवै भावना हुनसक्ने मनोवैज्ञानिक अवस्थितिलाई व्याख्या गरेको छ।
समयसँगै सम्बन्ध फेरि नजिकिँदै गएको संकेत भने पछिल्ला गतिविधिमा देखिन थालेका छन्। वाग्लेको अर्थमन्त्री पद बहालीकै दिन अर्थ मन्त्रालयको सुवर्ण हलमा देखिएको दृश्यले धेरैको ध्यान खिच्यो। गभर्नर पौडेल स्वयं स्वागत कार्यक्रममा पुगे। अर्थमन्त्रीसँग भेट नभएपछि उनी तल कार्यकक्षसम्म पुगे। वाग्ले पत्रकारसँग व्यस्त थिए, पौडेल भने अर्थसचिव घनश्याम उपाध्यायको पछाडि उभिएर प्रतीक्षा गरिरहेका थिए।
दुवैको भेट हुँदा पौडेलले हल्का गुनासो गरे, ‘मैले फोन गरेको थिएँ, तपाईँले उठाउनुभएन नि!’
वाग्लेले ‘फोन आफूसँग नभएको सहज जवाफ दिए। त्यसपछि दुवैसँगै सुवर्ण हलतर्फ उक्लिए। कार्यक्रममा वाग्लेले चिनियाँ भाषामा गभर्नरको दखलको प्रशंसा गर्दा पौडेल मुस्कुराएको दृश्यले सम्बन्धमा ‘आइस ब्रेक’ भएको संकेतका रूपमा हेरियो।
यति मात्र होइन, अर्थमन्त्रीले गभर्नरलाई मन्त्रालयमा बोलाएर छुट्टै भेटघाट गरेको खबर पनि बाहिरिएको छ। यद्यपि उक्त भेटमा के कुराकानी भयो भन्ने औपचारिक जानकारी सार्वजनिक भएको छैन। अर्कोतर्फ, गभर्नर पौडेलले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँगको भेटमा ‘निर्धक्क भएर काम गर्न’ पाएको आश्वासनबारे चर्चा पनि सञ्चारमाध्यममा आएको छ। यसले पौडेलको शक्ति केन्द्रहरूबीचको सन्तुलन र सम्बन्धको नयाँ आयाम देखाएको छ।
राजनीतिमा सम्बन्धहरू सधैँ सीधा र स्थिर हुँदैनन्। कहिले नजिक, कहिले टाढा-कहिले सहकार्य, कहिले टकराब।
वाग्ले र पौडेलबीचको सम्बन्ध अहिले पूर्ण रूपमा सुध्रिएको छ भन्ने निष्कर्ष निकाल्न हतारो हुने जानकारहरू बताउँछन्। तर, तिक्तताबाट संवादतर्फ, दूरीबाट सहकार्यतर्फ सर्ने संकेत भने देखिन थालेका छन्। राजनीति र अर्थतन्त्रको जटिल समीकरणमा यी दुई पात्रबीचको सम्बन्ध व्यक्तिगत मात्र नभई, नीतिगत प्रभाव र संस्थागत सन्तुलनसँग पनि जोडिएको विज्ञहरू बताउँछन्।



About Us
प्रतिक्रिया