काठमाडौं – प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सन नेपाल लाईफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राज कुमार अर्याललाई पक्राउ गरेको छ । सीआईबीले धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा पक्राउ गरेको हो ।
कर्मचारीहरुलाई छुट्याएको शेयर बाँडफाँड सम्बन्धमा नियमनकारी निकायले माग गरेको विवरण र कागजात पेश गर्दा उक्त कम्पनीबाट प्राप्त सक्कल आवेदन फाराम र सो को प्रतिलिपिहरूको विवरण फरक निकायमा पेश गर्दा नमिलेको आधारमा धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०० विपरित कसुर गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।
धितोपत्र सम्बन्धि ऐन २०६३ मा कसैले निरीक्षण तथा जाचबुझको सिलसिलामा बोर्ड वा बोर्डद्वारा अधिकार प्राप्त अधिकारीले मागेको कुनै लिखत, विवरण वा अभिलेख वा दफा १०३ बमोजिम तहकिकात गर्न तोकिएको अधिकारीले तहकिकातको सिलसिलामा मागेको कुनै लिखत, विवरण वा अभिलेख वा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम तथा विनियम बमोजिम आफुले राख्नु पर्ने लिखत, विवरण वा अभिलेख नष्ट गर्न, झुट्टो बनाउन, लुकाउन वा त्यस्तो कार्य गर्नमा मद्दत पुर्याउन नहुने उल्लेख छ । तर, सीईओ अर्यालले सोहि व्यवस्थाको उल्लघंन गरेका हुन् ।
यता, सोही ऐनको दफा १०१ दण्ड सजायसम्बन्धि व्यवस्था गरिएको छ । जसमा धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०० विपरित कसुर गर्नेलाई एक लाख रुपैयाँ देखि तीन लाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । यस्तै, त्यस्तो कारोबारबाट कसैलाई हानि नोक्सानी भएको रहेछ भने त्यस्तो हानि नोक्सानी समेत भराई दिनु पर्ने सो दफामा उल्लेख छ । पक्राउ परेका अर्याललाई पनि सोहि व्यवस्थाअनुसार कारबाही हुने बताइएको छ ।
धितोपत्र सम्बन्धी ऐनमा यस्तो कसूर सम्बन्धी मुद्दामा नेपाल सरकार वादी हुने उल्लेख छ । ऐनले मुद्दाकोतहकिकात र दायरी सम्बन्धि पनि व्यवस्था छ । ऐनमा भनिएको छ ‘ ऐनको दफा १०० मा उल्लिखित कसूर कसैले गरेको छ भनी कसैको उजूरी परेमा वा कुनै व्यहोराले त्यस्तो कसूर सम्बन्धी जानकारी बोर्डले प्राप्त गरेमा वा कसैले त्यस्तो कसूर गरेको कुरामा बोर्ड विश्वस्त भएमा त्यस्तो कसूर सम्बन्धी मुद्दाको तहकिकात गर्न बोर्डले कुनै अधिकृतलाई तहकिकात गर्ने अधिकारी तोक्नेछ ।’



About Us
प्रतिक्रिया