देश र जनताका पक्षमा दृढतापूर्वक काम गर्न सांसदलाई अध्यक्ष ओलीको निर्देशन


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको परिणामबाट निराश नभई देश र जनताका पक्षमा दृढतापूर्वक काम गर्न आफ्ना सांसदहरूलाई निर्देशन दिएका छन्। प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले आज शपथ लिएलगत्तै पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा उनले प्रतिनिधिसभा र राष्ट्रियसभामा रहेका आफ्ना सांसदलाई जनहित र राष्ट्र निर्माणलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिएका हुन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले यसअघि पनि पार्टीले देश र जनता पक्षमा काम गरेको स्मरण गराउँदै आगामी दिनमा पनि मुलुकको समृद्धिका पक्षमा काम गर्नुपर्नेमा जोड दिए। उनले आफूहरू सत्य, समृद्धि र विकासको मार्गमा रहेकाले आफूविरुद्ध हुनसक्ने गलत प्रचारविरुद्ध दृढतापूर्वक सामना गर्दै अघि बढ्नुपर्ने बताए।

‘हामीविरुद्ध तथ्य र तर्कमा आधारित नभई असभ्य र भ्रमपूर्ण रूपमा प्रहार हुनसक्ने भएकाले त्यसको डटेर सामना गर्न एकजुट हुनुको विकल्प छैन। अहिले नै हामीले हरेस खानुपर्ने कुनै आवश्यकता छैन। हामी सत्यको मार्गमा थियौँ, छौँ र रहनेछौँ’, उनले भने‘यस अवस्थामा हाम्रो पार्टी एकताबद्ध र एक ढिक्का भएर अगाडि बढ्नुपर्छ। पार्टीका नीति र निर्णयबमोजिम अनुशासित भएर नेता र सांसद प्रस्तुत हुनुपर्छ।’

अध्यक्ष ओलीले अहिले विश्व राजनीतिमा अराजकता हाबी भएको भन्दै संयुक्त राष्ट्रसङ्घजस्ता निकाय निष्प्रभावी भएका बताए। कार्यक्रममा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादल, महासचिव शङ्कर पोखरेल, सचिव पद्मा अर्याललगायत सहभागी थिए।