जाँचबुझ आयोग प्रतिवेदन: बीमालाई कमाई खाने भाँडोको रूपमा स्वास्थ्य संस्थाहरूले प्रयोग गरे 


काठमाडौं – गौरीबहादुर कार्की नेतृत्वको  भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले नेपालको राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रममा धेरै चुनौतीहरू रहेका उल्लेख गरेको छ। प्रतिवेदनले केही स्वास्थ्य संस्थाहरूले बीमालाई ‘कमाई गर्ने माध्यम’ का रूपमा प्रयोग गरिरहेकोले यस क्षेत्रमा विकृति देखिएको उल्लेख गरेको हो। सरकारले अस्पतालहरूलाई अर्बौँ रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ भने बीमा कोषमा दबाब बढ्दै गएको बताएको छ। साथै, केही स्वास्थ्य संस्थाहरूले बीमालाई ‘कमाई गर्ने माध्यम’ का रूपमा प्रयोग गरिरहेका छन्, जसका कारण प्रणालीमा विकृति देखिएको प्रतिवेदनमा उल्लेख गरेको छ। 

बिरामीलाई आवश्यक नभएका परीक्षणहरू गराउने, सानो रोगमा लामो समयसम्म अस्पतालमा राख्ने र बीमाबाट अनावश्यक रकम दाबी गर्ने प्रचलन बढ्दो छ। त्यसैगरी, सानो उपचारलाई कागजमा ठुलो देखाएर नक्कली बिल बनाउने, एक्स–रे, सिटी स्क्यान, एमआरआई जस्ता महँगा परीक्षणहरू अनावश्यक रूपमा गराउने जस्ता गतिविधि पनि व्यापक रहेको बताइएको छ।अर्को गम्भीर समस्या औषधिसम्बन्धी ठगी हो। सस्तो औषधि दिएर कागजमा महँगो औषधि देखाउने, बिरामीलाई नगदमा औषधि किन्न लगाउने र पछि सोही औषधिको नक्कली बिल पेस गरी दोहोरो लाभ लिने प्रवृत्ति देखिएको छ।

यस्तै, वास्तविक बिरामी नभएको अवस्थामा पनि कागजमा उपचार गरेको देखाउने तथा पुराना बिरामीको नाम प्रयोग गरेर बीमाबाट रकम लिने जस्ता कार्यहरू समेत हुने गरेको छ। विज्ञहरूले बीमा बोर्डमा हुने राजनीतिक नियुक्ति र हस्तक्षेपलाई पनि समस्या बढ्नुको प्रमुख कारणका रूपमा रहेको आयोगले जनाएको छ। आयोगले समस्या समाधानका लागि विज्ञहरूले डिजिटल प्रमाणीकरण प्रणाली लागू गर्न, निगरानी संयन्त्र प्रभावकारी बनाउन, स्वतन्त्र नियामक निकाय स्थापना गर्न र बीमा बोर्डका पदाधिकारीको नियुक्ति पारदर्शी बनाउन सुझाव दिएको छ। यसका साथै, बीमा प्रणाली दुरुपयोग गर्ने व्यक्ति तथा संस्थालाई फौजदारी कानुन अनुसार कडा कारबाही गर्नुपर्नेमा जोड दिइएको छ।