चैत २२ गतेदेखि आईपीओ निष्काशन गर्दै कालिन्चोक हाइड्रोपावर


काठमाडौं – कालिन्चोक हाइड्रोपावर लिमिटेडले चैत २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी पूँजी ५५ करोड रुपैयाँको २५ प्रतिशत अर्थात् १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। जसमध्ये ५ लाख ५० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र ८२ हजार ५०० कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ।

अब कम्पनीले दोस्रो चरणमा ४१ हजार २५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि र १६ हजार ५०० कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित राखी बाँकी रहेको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ६ करोड ८४ लाख ७५ हजार रुपैयाँबराबरको ६ लाख ८४ हजार ७५० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।

सो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। सो आईपीओ निष्काशन बन्द छिटोमा चैत २५ गते हुनेछ भने ढिलोमा वैशाख ६ गते हुनेछ। कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। त्यस्तै, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरेर समेत आवेदन दिन सक्नेछन्।