चोरी भएका ५० वटा सवारी साधन धनीलाई हस्तान्तरण


काठमाडौं –प्रहरीले विभिन्न समयमा हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले २७ ओटा मोटरसाइकल र २३ ओटा स्कुटर सम्बन्धित धनीलाई आज हस्तान्तरण गरेका हुन्। 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदन र अन्य माध्यमबाट आएका सूचनाका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौं उपत्यका स्थित काडाँघारी, स्वयम्भू, दरबारमार्ग, चापागाँउ, नेपालटार, नयाँबसपार्क, बालकुमारी, लोकन्थली, बसन्तपुर, कालिमाटी, बौद्ध, गोकर्ण, मुलपानी, सुकेधारा, सुन्दरीजल, थानकोट, सोह्रखुट्टे, कपन, चागल लगायतका स्थानबाट उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।

आज बुझाइएका ५० ओटा सहित ३४७ ओटा सवारी साधन गत साउन यता काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले धनीलाई जिम्मा लगाइसकेको छ। चोरीका १८ ओटा दुई पाङ्ग्रे सवारी साधन सहित चोरीमा संलग्न ३१ जना व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ।

सवारी साधन जिम्मा लिए पश्चात् सवारी धनीहरूले खुसी व्यक्त गर्दै सामूहिक रूपमा ट्राफिक प्रहरीलाई धन्यवाद समेत दिएका थिए। प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले सोही कार्यक्रममा खोजतलास शाखाका प्रहरी नायव निरीक्षक गोपाल तामाङलाई हराएका सवारी साधन खोजतलासमा महत्त्वपूर्ण भूमिका खेलेकाले प्रशंसा पत्रसमेत प्रदान गरे। 

सवारी साधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी ह्यान्डिल लक, डिस्क लक लगायत सुरक्षा साइरनहरू जडान गर्न साथै (जीपियस) जडान, मानिसहरूको आवत–जावत नहुने एकान्त स्थानमा सवारी साधन पार्किङ नगर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले अनुरोध गरे।