काठमाडौं – गत भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन बाहिरिएको छ। प्रतिवेदनअनुसार बानेश्वरस्थित संसद् परिसर आसपास भदौ २३ गते भएको प्रदर्शनका क्रममा प्रहरी र जेनजी प्रदर्शनकारीबीच झडप हुँदा कर्फ्यु लागि सकेको भन्दै तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले नै बल प्रयोग गर्न निर्देशन दिएका थिए।
प्रहरीहरूको ज्यान खतरामा पर्न लाग्यो भन्ने सेटबाट खबर पाएपछि ‘कर्फ्यु लागिसकेकोले आदेश मागी राख्नु नपर्ने भन्दै आवश्यक बल प्रयोग गर्न पिटर १ सञ्चार सेटबाट बल प्रयोग गर्न निर्देशन दिएका थिए। उक्त आदेशपछि सुरक्षाकर्मीहरू ‘अन्तिम बल प्रयोग’तर्फ अग्रसर भएको प्रतिवेदनमा उल्लेख छ। आयोगका अनुसार महानिरीक्षक खापुङको निर्देशनपछि काठमाडौं जिल्ला प्रहरी प्रमुखले समेत किलो १ सञ्चार सेटबाट पटक–पटक बल प्रयोग गर्न आदेश दिएका थिए।
साथै, उपत्यका प्रहरी कार्यालय रानीपोखरीका कार्यवाहक प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओमबहादुर रानाले पनि सोही माध्यमबाट बल प्रयोगका लागि निर्देशन दिएका थिए। प्रतिवेदनले एकातर्फ महानिरीक्षकले बल प्रयोग सम्बन्धी आफ्नो कुनै भूमिका नरहेको र कानूनी अधिकारसमेत नभएको भनी दिएको बयान र अर्कोतर्फ सञ्चार सेटबाट दिएको प्रत्यक्ष आदेशबीच विरोधाभास देखिएको औँल्याएको छ।
प्रतिवेदन अनुसार यही आदेशपछि नै बल प्रयोग तीव्र बनेको र अन्ततः घातक गोली चल्दा प्रदर्शनकारीहरूको मृत्यु तथा घाइतेको सङ्ख्या बढेको जनाएको छ। प्रतिवेदनले आदेश दिने जिम्मेवार अधिकारीहरूको भूमिकाबारे स्पष्टता र कानुनी उत्तरदायित्व निर्धारण गर्न सरकारलाई सिफारिस गरेको छ। साथै,भविष्यमा यस्ता घटनामा बल प्रयोगसम्बन्धी स्पष्ट कार्यविधि र नियन्त्रण संयन्त्र आवश्यक रहेकोमा पनि जोड दिएको छ।



About Us
प्रतिक्रिया