आत्मनिर्भर लघुवित्तले लाभांश घोषणासहित बोलायो साधारण सभा


काठमाडौं – आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गर्दै आगामि वैशाख ७ गते वार्षिक साधारण सभा बोलाएको छ। संस्थाले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

सो लाभांश प्रस्ताव पारित गर्न संस्थाले घोराही उपमहानगरपालिका १५, दाङमा सातौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ। लाभांश प्रस्तावका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

त्यसैगरी साधारणसभाले चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गरी प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन एवं परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ संस्थाले चैत २६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार चैत २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले संस्थाको साधारण सभामा सहभागिता जनाउन तथा संस्थाले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।