ग्लोबल आइएमई बैंकद्वारा पौभा कलाको दिव्य रङ्ग, दर्शन समावेश २०८३ सालको क्यालेन्डर सार्वजनिक


काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेडद्वारा पौभा कलाको दिव्य रङ्ग र दर्शन सहितको तस्वीरहरु समावेश नयाँ वर्ष २०८३ सालको क्यालेन्डर सार्वजनिक गरेको छ। बैंकको कर्पोरेट कार्यालय कमलादीमा आयोजित एक समारोहमा बैंकका अध्यक्ष तथा नेपाल उद्मोग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक प्रा. डा. सन्दुक रुइटले सम्युक्तरुपमा उक्त २०८३ सालको क्यालेन्डर सार्वजनिक गरेका हुन्।

पौभा कला नेवार जातिको मौलिक चित्रकला हो। क्यालेण्डरमा विशेषगरी काठमाडौं उपत्यकामा बस्ने नेवाः समुदायसँग गहिरो सम्बन्ध रही आएको पौभा कलाको दुर्लभ चित्रहरु समावेश गरिएको छ। थान्कासँग मिल्दोजुल्दो देखिए पनि पौभाको आफ्नै विशिष्ट पहिचान र दार्शनिक गहिराई रहेको छ।

बैंकले विगत केही वर्षदेखि नेपाली कला, साहित्य, संस्कृति र सभ्यताको संरक्षण तथा प्रवर्द्धनका आफ्नो क्यालेण्डरमा मौलिक चित्रहरुसमावेश गर्ने गरेको छ। बैंकले २०७९ मा नेपालको मौलिक मिथिला संस्कृति झल्कने चित्र, २०८० मा मण्डला चित्रकला, २०८१ मा विभिन्न समयमा स्वदेश फर्काइएका प्राचित कलाकृति र २०८२ मा पुराना नेपाली जीवनशैली झल्काउने दुर्लभ तस्वीर समावेश गरी क्यालेण्डर प्रकाशन गरेको थियो।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङ्गसहित बैंकका उच्च व्यवस्थापनका कर्मचारीहरुको उपस्थिति रहेको थियो।

ग्लोबल आइएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ। बैंकले बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४, बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरु प्राप्त गरिसकेको छ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकको ३५२ शाखा कार्यालय, ३७९ एटिएम, १४७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ्ग सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ। बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ।