काठमाडौं- अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले बझाङ्गको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसमेत ५ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार, बझाङ्गको बित्थडचिर गाउँपालिका वडा न. ९ स्थित बागथला धारी डोबा सडक निर्माण कार्यमा व्यापक अनियमितता भएको हो।
बागथला धारी डोबा रोड (रोड २) अन्तर्गत मेशनरी वर्क, सिँचाइ क्यानल तथा ह्युम पाइप कलभर्ट निर्माण कार्य पूरा नभएपनि सम्पन्न भएको देखाई भुक्तानी लिइएको पाइएको आयोगले बताएको छ। योजनाको नापी किताबमा ३३८ मिटर सिँचाइ क्यानल निर्माण भएको उल्लेख गरिए पनि स्थलगत निरीक्षणमा केवल २४८ मिटर मात्र निर्माण भएको देखिएको छ। साथै, मेशनरी वर्क अन्तर्गतका केही संरचनात्मक कार्यहरू फिल्डमै नभएको पुष्टि भएको अख्तियारले जनाएको छ।
अख्तियारले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्ट, इन्जिनियर सन्देश भण्डारी, सब–इन्जिनियर किरण भण्डारी, लेखापाल रामचन्द्र धामी तथा निर्माण व्यवसायी भुमिराज कन्स्ट्रक्शनका प्रोपाइटर मानबहादुर बोहरा संलग्न रहेको आरोप छ। उनीहरूले मिलेमतोमा झुट्टा बिल तथा प्रतिवेदन तयार गरी ८ लाख ४८ हजार बराबरको रकम गैरकानुनी रूपमा भुक्तानी लिएको आरोप लगाइएको छ।



About Us
प्रतिक्रिया