मोटरसाइकल चोरीमा संलग्न एक जना ट्राफिक प्रहरीको नियन्त्रणमा


काठमाडौं – काठमाडौं महानगरपालिका १६ बाईपासवाट आज चोरीको मोटरसाइकल सहित १ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा आउनेमा नुवाकोटको ककनी गाउँपालिका १ घर भई हाल काठमाडौंको लोलाङ बस्ने २० वर्षीय निखिल बलामी रहेका छन्।

बागमती प्रदेश ०२–०२८ प ८४०८ नम्बरको मोटरसाइकल नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२–०३९ प ९४५४ नम्बर राखी चलाइरहेको अवस्थामा बाईपास सडकखण्डमा फेला पारी बलामीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो। उक्त मोटरसाइकल ललितपुरको गोदावरी नगरपालिका १० बोहोराटार बस्ने जयराम केसीले बोहोराटारवाट हराएको भनी खोजतलासका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए। 

मोटरसाइकल सहित नियन्त्रणमा आएका बलामीलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त चापागाउँ पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता,प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिए। आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न सुवेदीले सम्पूर्णमा अनुरोध गरेका छन्।