बैंकिङ्ग कसुर मुद्दामा ६० लाख ९० हजार बिगो भएको फरार प्रतिवादी प्रहरीको फन्दामा 


काठमाडौं – बैंकिङ्ग कसुर र वैदेशिक रोजगार सम्बन्धी कसुर मुद्दामा फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दोलखाको वैतेश्वर घर भएकी राधिका बस्नेत रहेकी छिन्। 

बस्नेतमाथि बैंकिङ्ग कसुर र वैदेशिक रोजगार सम्बन्धी कसुरमा ९ वटा मुद्दामा ८० लाख १५ हजार बिगो रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार, जिल्ला प्रहरी परिसर काठमाडौंमा बैंकिङ्ग कसुरका २ वटा मुद्दामा १८लाख ६० हजार बिगो, प्रहरी वृत्त बौद्धमा बैंकिङ्ग कसुरका ३ वटा मुद्दामा १७ लाख ३० हजार बिगो, प्रहरी वृत्त गौशालामा बैंकिङ्ग कसुरका १ वटा मुद्दामा २० हजार बिगो, प्रहरी वृत्त सिंहदरबारमा बैंकिङ्ग कसुरको १ वटा मुद्दामा ५ लाख बिगो र वैदेशिक रोजगार विभाग ताहाचलमा वैदेशिक रोजगार सम्बन्धी कसुरको २ वटा मुद्दामा १९ लाख २५ हजार बिगो रहेको छ। 

बैंकिङ्ग कसुर मुद्दामा जिल्ला अदालत बबरमहलबाट पक्राउ अनुमति भएकी उनलाई काठमाडौं अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले खोजतलास गर्ने क्रममा काठमाडौं महानगरपालिका– ६ बाट पक्राउ गरेको हो। उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।