ग्लोबल मनि विक: ज्योति विकास बैंकले गर्यो देशव्यापी वित्तीय साक्षरता कार्यक्रम, झण्डै दुई हजार विद्यार्थी लाभान्वित


काठमाडौं – ‘सबल अर्थतन्त्रको आधार तय गर्न युवा शिक्षित हुनुपर्ने लक्ष्यसहित ज्योति विकास बैंकले ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा देशभर वित्तीय साक्षरता अभियान सफलतापूर्वक सम्पन्न गरेको छ।

बैंकले सातै प्रदेशका विभिन्न ३० वटा शाखाहरूमार्फत विद्यालय तथा क्याम्पस स्तरका विद्यार्थीहरूलाई लक्षित गरी सञ्चालन गरेको यस कार्यक्रमबाट देशभरका २९ वटा शिक्षण संस्थाका करिब दुई हजार विद्यार्थीहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।

बैंकले संघीय संरचना अनुसार सबै प्रदेशमा आफ्नो उपस्थिति जनाउँदै वित्तीय पहुँच पुर्‍याएको छ। कार्यक्रममा कोशी प्रदेशको बेलबारी मल्टिपल कलेज, मधेश प्रदेशको अल्बा कलेज, बागमती प्रदेशको जनज्ञान निकेतन माध्यमिक विद्यालय, र गण्डकी प्रदेशको छोरेपाटन माध्यमिक विद्यालय लगायतका संस्थाहरू सहभागी थिए।

यसैगरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका दुर्गम तथा सहरी क्षेत्रका विद्यालयहरूमा पनि बैंकका कर्मचारीहरूले वित्तीय व्यवस्थापन, बचतको महत्त्व र डिजिटल बैंकिङ सुरक्षाका बारेमा प्रशिक्षण दिएका थिए।

प्रयोगात्मक र उपयोगी शिक्षा

दुई दिने सत्रहरूमा आधारित यस कार्यक्रममा विद्यार्थीहरूलाई व्यक्तिगत वित्त व्यवस्थापन, बैंकिङ्ग प्रणालीको प्रयोग, ऋण र लगानीका आधारभूत सिद्धान्तका साथै हाल बढ्दै गएको वित्तीय ठगीबाट बच्ने उपायहरू सिकाइएको थियो।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित यस कार्यक्रमको मुख्य उद्देश्य युवा पुस्तामा वित्तीय चेतना फैलाउनु र उनीहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बन्न प्रेरित गर्नु रहेको बैंकले जनाएको छ। बैंककाअनुसार, यस्ता कार्यक्रमले विद्यार्थीहरूमा सानै उमेरदेखि बचत गर्ने बानीको विकास गर्ने र भविष्यमा सही आर्थिक निर्णय लिन मद्दत पुग्ने विश्वास लिइएको छ।

ज्योति विकास बैंकले आगामी दिनमा पनि यस्ता समुदाय लक्षित र जनचेतनामूलक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।