सोपान फर्मास्यूटिकल्सको आईपीओमा आजदेखि आवेदन दिन सकिने


काठमाडौं – सोपान फर्मास्यूटिकल्स लिमिटेडले आज अर्थात् चैत ९ गतेदेखि आईपीओ निष्काशन गरेको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशतले हुन आउने ४२ करोड ९० लाख रुपैयाँ बराबरको ४२ लाख ९० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। जसमध्ये १० प्रतिशतले हुन आउने प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४ लाख २९ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।

कम्पनीले ५ प्रतिशत अर्थात २ लाख १४ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि र ४ प्रतिशत अर्थात १ लाख ७१ हजार ६०० कित्ता शेयर कम्पनीका कर्मचारीहरुलाई छुट्याएको छ। बाँकी रहेको ३४ लाख ७४ हजार ९०० कित्ता शेयर कम्पनीले सर्वसाधारणका लागि निष्काशन गर्नेछ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ११ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले चैत १२ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन्। सो अवधिसम्ममा आवेदन नपरेमा निष्काशन अवधि चैत २३ गतेसम्म लम्बिनेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

जसमा आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।