काठमाडौं – कालोपुलका रहेको लामा गल्लीस्थित एक डेरा कोठाबाट सुनचाँदीका गरगहना र नगद चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडाको बूढानीलकण्ठ नगरपालिका २ घर भएका उपेन्द्र खत्री र कैलालीको गौरीगंगा नगरपालिका २ घर भएका निरज सापकोटा रहेका छन्।
प्रहरीकाअनुसार उनीहरूले डेरामा रहेको काठको दराजबाट करिब २६ तोला ८ आना सुनका गरगहना, ३३ हजार बराबरको चाँदीका सामग्री, भारतीय रुपैयाँ १० हजार र नेपाली रुपैयाँ ४५ हजार चोरी भएको सूचना प्राप्त भएपछि अनुसन्धान अघि बढाइएको थियो।
प्रहरीले उनीहरूबाट विभिन्न सुन तथा चाँदीका गरगहना, नगद रकम र धारिलो हतियार बरामद गरेको जनाएको छ। बरामद सामानमा तिलहरी, सिक्री, नेक्लेस, बाला, झुम्का, औँठी, पाउजु लगायतका गरगहना रहेका छन्।
साथै, खुकुरी, तरबार, फलामको रड जस्ता हतियारसमेत फेला परेका छन्। यसैगरी, नेपाली रुपैयाँ २ लाख ४९ हजार नगद र चोरीमा प्रयोग गरिएको होण्डा कम्पनीको स्कुटर पनि बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीले पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।



About Us
प्रतिक्रिया