अर्थमन्त्री र बैंक तथा वित्तीय क्षेत्रका नियामक निकायका प्रमुखहरुबीच भेटघाट


काठमाडौं – अर्थमन्त्रालयमा सोमबार अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र बैंक तथा वित्तीय क्षेत्रका नियामक निकायका प्रमुखहरुसँग भेटघाट भएको छ।

अर्थमन्त्रालयका राजस्व सचिव भूपाल बरालसमेतको उपस्थिति रहेको भेटघाट कार्यक्रममा नियामक निकायहरुका तर्फबाट नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेल र नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठको सहभागिता थियो।

भेटघाटमा अर्थमन्त्री खनालले आफूलाई अर्थमन्त्रीका रुपमा रहँदा समष्टिगत आर्थिक स्थायित्व कायम गर्न, लगानीका लागि उपयुक्त वातावरण निर्माण गर्न, पुँजी बजारलाई पारदर्शी र लगानीमैत्री बनाउन तथा आर्थिक सुशासन कायम गराउनका लागि नियामक निकायहरुले खेलेको भूमिकाप्रति धन्यवाद प्रकट गरे।

सोही अवसरमा नियामक निकायका प्रमुखहरुले अर्थमन्त्रीसँगको सहकार्य फलदायी रहेको स्मरण गराउँदै नेपालको बैंक तथा वित्तीय क्षेत्रको विकास र वित्तीय अनुशासन कायम गराउनमा अर्थ मन्त्रालयले अवलम्बन गरेका नीति र मार्गनिर्देशनका लागि अर्थमन्त्रीप्रति आभार व्यक्त गरे।