सानो लगानीको ठूलो सपनाः १६ वर्षमै आईपीओबाट सुरु भएको राधा पोखरेलको यात्रा


काठमाडौं – अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा जब साहस, आत्मविश्वास र परिवर्तनका कथा खोजिन्छन्, महोत्तरीको बर्दिबासमा जन्मेकी एक युवतीको संघर्षपछिको यात्राले विशेष अर्थ राख्छ। उनी हुन् राधा पोखरेल, जसले व्यक्तिगत कठिनाइलाई पार गर्दै नेपाली पुँजी बजारमा आफ्नो अलग पहिचान बनाएकी छन्। मध्यवर्गीय परिवारमा जन्मेकी पोखरेलको बाल्यकाल सहज थिएन। सानै उमेरदेखि विभिन्न स्वास्थ्य समस्यासँग जुध्नुपर्याे।

त्यसैबीच द्वन्द्वकालीन असुरक्षाका कारण परिवारले गाउँ छोडेर काठमाडौं बसाइँ सर्नुपर्याे। बाल्यकालका सम्झनामा सहजता भन्दा संघर्षका अध्याय धेरै छन्। तर ती कठिनाइले उनलाई कमजोर बनाउनुको सट्टा अझ दृढ बनाउँदै लगे। सानैदेखि उनको झुकाव सामाजिक सेवातर्फ थियो। दुःख पाएका बालबालिका वा असहाय वृद्ध–वृद्धालाई देख्दा सकेको सहयोग गर्न उनी पछि हट्दिन थिन्। कतिपय अवस्थामा घरमै ल्याएर खाना खुवाउने र हेरचाह गर्ने काममा पनि उनी सक्रिय हुन्थिन्। आफैं स्वास्थ्य समस्यासँग जुधिरहेकी भए पनि अरूलाई सहयोग गर्ने हात भने सधैँ अघि बढ्थ्यो।

पढाइसँगै करिअरको सुरुवात
२०७० सालतिर पद्मकन्या क्याम्पसमा समाजशास्त्र विषयमा स्नातक अध्ययन गर्दै गर्दा उनले पहिलो पटक सहकारी संस्थामा काम सुरु गरिन्। त्यहाँ उनले निर्देशकका रूपमा काम गरिन्। यही अनुभवले उनलाई वित्तीय क्षेत्रतर्फ आकर्षित गर्यो। त्यो समय उच्च माध्यमिक शिक्षा पूरा गरे लगत्तै विदेश जाने लहर चलेको थियो। उनका धेरै साथीहरू पनि विदेशतर्फ लागे। तर पोखरेलले त्यो बाटो रोजिनन्।

‘मसँगै पढेका धेरै साथी विदेश गए, तर मलाई कहिल्यै विदेश जाने सोच आएन,’ उनी सम्झिन्छिन्, ‘परिवारलाई पहिलेबाटै शेयर बजारको केही जानकारी थियो। त्यही कारण परिवारले पनि मलाई शेयर बजारमा लाग्न प्रोत्साहन गर्नुभयो।’ आर्थिक रूपमा सम्पन्न नभएको पारिवारिक पृष्ठभूमिका कारण उनले पैसाको महत्व सानैदेखि बुझिन्। पढाइसँगै काम सुरु गरेकी उनी त्यसबेलै मासिक करिब ३५ हजार रुपैयाँ आम्दानी गर्न थालिसकेकी थिइन् । सहकारी क्षेत्रमा आम्दानी सीमित देखेपछि उनले विस्तारै ध्यान शेयर बजारतर्फ मोडिन्।

आईपीओबाट सुरु भएको यात्रा
पोखरेलको शेयर बजार यात्रा प्राथमिक शेयर निष्काशन (आईपीओ) बाट सुरु भएको थियो। १६ वर्षको उमेरदेखि नै उनले आईपीओ भर्न थालेकी थिइन्। सुरुमा आफ्नो र बुबाको नाममा आईपीओ आवेदन दिने गर्थिन्। पहिलोपटक परेको आईपीओ उनले करिब ६ महिनापछि बेचिन्। त्यसबाट आएको ३१ हजार रुपैयाँ उनले दोस्रो बजारमा लगानी गर्न प्रयोग गरिन्।
‘त्यतिबेला अहिले जस्तो अवस्था थिएन, आईपीओ पनि तुलनात्मक रूपमा धेरै पर्थे,’ उनी भन्छिन्। यसरी सुरु भएको लगानी यात्राले उनलाई शेयर बजारको व्यावहारिक ज्ञान दियो । स्नातक अध्ययनकै क्रममा उनले दोस्रो बजारमा नियमित कारोबार गर्न थालिन्।


युवामाझ शेयर बजारको चेतना
पोखरेलले शेयर बजारलाई व्यक्तिगत कमाइको माध्यमका रूपमा मात्रै हेरिनन्। उनी युवामाझ वित्तीय सचेतना फैलाउने अभियानमा पनि सक्रिय रहिन्। उनले शेयर बजारबारे अन्तरक्रिया तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै सातै प्रदेशका विभिन्न जिल्लामा युवासँग संवाद गरिन्। विशेष गरी आर्थिक रूपमा कमजोर युवालाई लक्षित गर्दै शेयर बजारमा सानो लगानीबाट पनि अवसर सिर्जना गर्न सकिने सन्देश दिन्थिन्।

उनका अनुसार शेयर बजार यस्तो क्षेत्र हो, जहाँ हजार रुपैयाँबाट पनि लगानी सुरु गर्न सकिन्छ। यही कारण उनले सीमित आर्थिक स्रोत भएका युवालाई पनि लगानीतर्फ आकर्षित गर्न प्रयास गरिन्। त्यति मात्र होइन, जहाँ–जहाँ ब्रोकर सेवा पुगेको थिएन, त्यस्ता स्थानका समस्या उठाउँदै उनले सरोकारवाला निकायको ध्यानाकर्षण गराउने काम पनि गरिन्। ‘शेयर बजार सबैको पहुँचमा पुग्नुपर्छ भन्ने मेरो सोच हो,’ उनी भन्छिन्। ‘त्यसका लागि नियामक निकायदेखि सरोकारवालासम्म संवाद गर्दै आएको छु।’ व्यक्तिगत संघर्ष, निरन्तर प्रयास र सामाजिक सरोकारको संयोजनले राधा पोखरेललाई आज नेपाली पुँजी बजारमा प्रेरणादायी नामका रूपमा उभ्याएको छ।

शेयर बजार पुरुषका लागि मात्रै हो भन्ने सोचविरूद्धको लडाइँ
पोखरेलले महिला भएकै कारणले दोस्रो बजारमा आफ्नो कारोबार सुरु गर्दा महिला भएकै कारणले गर्दा धेरै चुनौती पार गर्नुपरेको थियो। उनी जुन समयमा शेयर मार्केटमा प्रवेश गरेकी थिइन्, त्यो समयमा शेयरमा कोही महिलाहरू नै थिएनन्। भए पनि एकदमै कम थिए। त्यतिबेला शेयर कारोबार गर्न ब्रोकरको कार्यालय नै जानुपर्ने अवस्था थियो। शेयर बजार पुरुषका लागि मात्रै हो भन्ने मानसिकता थियो। उनका लागि सहज भने थिएन।

‘म एक त सानी भरखरै १२ पास गरेर बसेको त्यस बेला मप्रति पुरुषहरूले हेर्ने नजर नै फरक थियो।’ त्यो हुँदा उनी सबैभन्दा पछाडि पुरुषको कपडा समेत लगाएर बस्ने गथिन्। त्यति बेलामा उनलाई शेयर खरिद बिक्री गर्न एउटा कोठामा मोनिटर झुन्डाएर राखेको हुन्थ्यो अरु कसैलाई शेयर किन्दिनु भन्दा योसँग के पैसा होला र भन्दै हाँसोको पात्र समेत बनाउथे। पछिल्ला ७/८ वर्षभित्र उनले महिला भएकै कारणले धरै चुनौतीहरू पार गर्नुपर्याे।

अहिले शेयर बजारमा आउन चाहने महिलाहरूका लागि राम्रो वातावरण सिर्जना भइसकेको छ। शेयर कारोबार गर्न ब्रोकरकोमा नै धाउनु पर्दैन। जो जहाँ बसेर पनि सजिलै आम्दानी गर्न सकिन्छ। २/४ पैसाका लागि अरुमाथि निर्भर हुनु पर्ने महिलाका लागि पुँजी बजार अहिले राम्रो स्थान बनेको छ। एउटा नांग्लोमा सामान बेचर बस्ने महिलाका लागि समेत शेयर बजार उपयुक्त छ। यस क्षेत्रमा १००० रुपैयाँले मात्रै पनि प्रवेश गर्न सकिने उनको बुझाइ छ।

उनी भन्छिन्, ‘यसमा समयको व्यवस्थापन गर्न सहज छ। शेयर बजार स्कुल कलेजमा पर्ने विद्यार्थी होस् या घर गृहिणी महिला या सुस्केरी जो कोहीले समयको व्यवस्था पन गर्दै शेयर बजारमा कारोबार गर्न सक्छन्।’ उनलाई अहिलेको परिवेशमा शेयर बजार बनेकै महिलाका लागि हो जस्तो लाग्छ। उनको विचारमा पहिलेको तुलना अहिले महिलाका लागि शेयर बजारमा धेरै सहजता त छ, तर यस क्षेत्रबाट कैयौँ महिलाहरू अन्जान छन्। नेपालमा २०/२५ प्रतिशत महिलाहरूलाई मात्रै शेयर बजारका बारेमा थाहा होला बाँकीका ८० प्रतिशत महिला यसबाट अपरिचित छन्। उनी भन्छिन्, ‘कसैसँग पुँजी छ ज्ञान छैन त कसैसँग ज्ञान छ पुँजी छैन, यी दुई बिचको अन्तरलाई आवश्यकता हेरी नियामक निकायले व्यवस्थापन गर्नुपर्छ।’

अब सामान्य खेतीपाती गर्ने महिला, घर गृहिणी महिला जुन विकास प्रविधिहरूबाट अनभिज्ञ छन्, जसलाई शेयर बजारका बारेमा थाहा नै छैन, त्यस्ता महिलाहरूको बजारमा सहभागिता बढाउन पुँजी बजारका ज्ञान बारेमा ठाउँ-ठाँउमा जनचेतना फैलाउन जरुरी छ। जो महिला शेयर बजारमा आउन चाहन्छन्, वा पैसा नभएकै कारणले कारोबार गर्न सकेका छैनन् उनीहरूलाई सरकारको तर्फबाट केही छुट गर्न सके पुँजी बजारमा महिलाहरूको सहभागिता बढाउन सकिने उनी बताउँछिन्। ‘शेयर बजारमा महिलाको सहभागिता बढाउन नियामक निकायहरूको ध्यान केन्द्रित हुन जरुरी छ।’ पोखरेलको बताउँछिन्।


‘व्यक्तिगत र व्यावसायिक जीवन एकैचोटी अघि बढाउन सजिलो थिएन’
राधाका लागि व्यक्तिगत र प्रोफेसनल जीवन एकै पटक अगाडि बढाउन सजिलो थिएन। उनले आफ्नो व्यावसायिक काममा भोग्नु परेको मजाक, महिला भएकै कारणले उनी माथि हेर्ने फरक नजर र अगाडि बढ्न खोज्दा खुट्टा तान्ने प्रवृत्ति त छँदै थियो, तर व्यक्तिगत जीवन पनि उनको लागि सहज भने थिएन।सानो बच्चा, परिवार, कामलाई सँगै लग्न सजिलो थिएन। तर, यस क्षेत्रमा उनलाई श्रीमानको साथ सहयोग भने राम्रो छ। उनको श्रीमानले पनि राधाबाट शेयर बजारको कुराहरू सिक्ने गर्छन्। ‘स्टक मार्केटको भविष्य समसामयिक परिवर्तन र नीतिले निर्धारण गर्छ’ शेयर बजारको निश्चित भविष्य छैन। शेयर बजार देशको अवस्था, तरलता, राज्यले पुँजी बजारका लागि लिने निर्णय जस्ता समसामयिक गतिविधिले बजारको मूल्य निर्धारण गर्छ।

उनी भन्छिन्, ‘शेयर बजारमा आफू अनुकूल नीति ल्याउने पनि चलन छ, जसले गर्दा दोस्रो बजारमा आएका लगानीकर्ता जसमा पनि महिला लगानीकर्ता झनै यसबाट त्रसित छन्।’ बजारको भविष्य कस्तो होला भनेर अनुमान मात्रै लगानी हो, पूर्ण विश्वास गर्न सकिँदै, महिला आफैमा कोमल, साना कुरामा आत्तिने, खुसी हुने प्रवृत्ति हुने हुँदा यो क्षेत्र महिलाका लागि अलि बढी चुनौती पनि हो कि जस्तो लाग्छ। शेयर बजारमा भुईँ मान्छेदेखि करोडैका मालिकहरूसम्म छन्, जसले गर्दा बजारलाई चलखेल होइन, लगानीमैत्री बनाइनुपर्ने उनी बताउँछिन्। उनी भन्छिन्, ‘बजारको नीति यस्तो बन्नुपर्‍यो जसले भोलि जुनसुकै सरकार आओस्, अर्थमन्त्री आओस् वा गभर्नर आओस् बजारमा लगानी गर्ने एउटा सकारात्मक वातावरण सिर्जना हुनुपर्छ।’